Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ककाकिकी’को प्रचारका लागि अपनाइएको शैली विवादमा परेको छ । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको जस्तो दृश्य प्रस्तुत गरेपछि निर्माण टिमको सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।
शनिबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा अचानक प्रहरीको पोसाकमा रहेको टोली हलभित्र प्रवेश गरेको थियो । त्यसपछि निर्देशक विक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएजसरी बाहिर निकाल्दै प्रहरी भ्यानमा राखिएको थियो ।
उक्त दृश्य फिल्मको कथावस्तुअनुसार तयार पारिएको प्रचारात्मक प्रस्तुति थियो । तर, यसबारे पूर्वजानकारी नहुँदा कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा दर्शकहरू वास्तविक पक्राउको घटना भएको भन्दै झुक्किएका थिए ।
कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जस्तो देखिने दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निर्माण टिमको कार्यशैलीमाथि प्रश्न उठेको हो । फिल्म प्रचारका नाममा सर्वसाधारणलाई भ्रममा पार्नु गैरजिम्मेवार र असंवेदनशील भएको भन्दै आलोचना भइरहेको छ ।
विवाद चर्किएपछि फिल्मको निर्माण टिमले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै उक्त प्रस्तुति फिल्मको कथावस्तुमा आधारित काल्पनिक दृश्य भएको स्पष्ट पारेको थियो । निर्माण टिमले प्रहरीसँग आवश्यक समन्वय गरेरै उक्त दृश्य प्रस्तुत गरिएको दाबी गरेको छ ।
यसैबीच, कलाकार मनोज गजुरेलले प्रचारात्मक प्रस्तुतिका कारण दर्शकमा भ्रम सिर्जना भएको भन्दै माफी मागेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
गजुरेलले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासलाई महत्त्व दिने व्यक्ति भएको उल्लेख गरेका छन् । तर, शनिबारको प्रस्तुतिमा आफू पनि सहभागी हुन पुगेको स्वीकार गर्दै त्यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन् ।
उनले मनोरञ्जनका नाममा समाजमा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नहुने बताएका छन् । प्रचारप्रसारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक हुने उनको भनाइ छ ।
राम्रो नियत हुँदाहुँदै पनि निर्णयमा त्रुटि हुन सक्ने भन्दै गजुरेलले गल्ती स्वीकार गरेर सुधार गर्नु सर्जकहरूको दायित्व भएको बताएका छन् ।
साथै, फिल्म निर्माणमा धेरै कलाकार तथा प्राविधिकको मेहनत जोडिने भएकाले प्रचारको एउटा शैलीका आधारमा समग्र फिल्मको मूल्यांकन नगर्न पनि उनले दर्शकसँग आग्रह गरेका छन् ।
‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्म ‘ककाकिकी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
२०८३ कार्तिक ३०
ताजा नेपाल
२०८३ कार्तिक ३०
ताजा नेपाल
२०८३ कार्तिक ३०
ताजा नेपाल