Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिलो विदेश भ्रमणमा भारत जाँदै प्रधानमन्त्री बालेन, दुई अर्ब डलरभन्दा बढी सहयोग माग्ने तयारी

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्ने तयारी गरेका छन्। मंसिरको पहिलो साताभित्र भारत भ्रमण गर्ने गरी सरकारले कूटनीतिक तथा प्रशासनिक तयारी तीव्र पारेको छ।

भ्रमणको मिति र विस्तृत कार्यतालिका नेपाल तथा भारतका परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन्। तर प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भ्रमणलाई उपलब्धिमूलक र परिणाममुखी बनाउने उद्देश्यसहित आवश्यक गृहकार्य भइरहेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि कार्यान्वयनमा आउन नसकेका द्विपक्षीय परियोजना, पूर्वाधार विकास, ऊर्जा सहकार्य र हवाई रुट विस्तारका विषयलाई प्राथमिकतामा राख्ने सरकारको तयारी छ।

विशेषगरी दशकौँदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउने, महेन्द्रनगरमा सुक्खा बन्दरगाह निर्माण गर्ने तथा नेपाल–भारतबीच सहमति भएका तर कार्यान्वयनमा ढिलाइ भइरहेका आयोजनालाई गति दिने विषय भ्रमणको प्रमुख एजेन्डा बन्ने बताइएको छ।

त्यस्तै, नेपालका नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक नयाँ हवाई प्रवेश मार्ग (एयर इन्ट्री रुट) उपलब्ध गराउन भारतसँग पहल गर्ने नेपालको तयारी छ। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनका लागि यो विषय महत्वपूर्ण मानिएको छ।

दुई अर्ब डलरभन्दा बढी सहयोग माग्ने तयारी

पछिल्लो समय भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको भौतिक क्षतिपछिको पुनर्निर्माणका लागि नेपालले भारतसँग आर्थिक सहयोग माग्ने तयारी गरेको छ।

परराष्ट्र स्रोतलाई उद्धृत गर्दै भ्रमणका क्रममा सहुलियतपूर्ण ऋण तथा अनुदानसहित दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग प्रस्ताव गर्ने तयारी भइरहेको बताइएको छ।

विशेषगरी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, सडक तथा अन्य विकास आयोजनामा भारतीय लगानी र प्रविधि भित्र्याउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसका साथै दुई देशबीच लामो समयदेखि विवादित सीमा समस्यालाई समेत वार्ताको विषय बनाउने नेपालको तयारी छ।

नेपालले आर्थिक सहयोग र पूर्वाधार विकासलाई प्राथमिकता दिए पनि भारतले भने नेपालको पछिल्लो भू–राजनीतिक गतिविधि तथा तेस्रो मुलुकसँग बढ्दो कूटनीतिक र आर्थिक सम्बन्धलाई आफ्नो सुरक्षा चासोका रूपमा उठाउन सक्ने कूटनीतिक क्षेत्रका जानकारहरूको आकलन छ।

पुराना सम्झौता कार्यान्वयनमा जोड

नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारी हुने गरे पनि तिनको कार्यान्वयन पक्ष कमजोर रहँदै आएको छ। त्यसैले यसपटक नयाँ प्रतिबद्धताभन्दा पनि पुराना सहमति कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने कूटनीतिक विश्लेषकहरूको सुझाव छ।

विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहले प्रत्येक परियोजनाको कार्यान्वयन समयसीमा, जिम्मेवार निकाय र प्रगति अनुगमनको स्पष्ट व्यवस्था सुनिश्चित गर्न सके भ्रमण परिणाममुखी बन्न सक्छ।

पञ्चेश्वर परियोजनादेखि सुक्खा बन्दरगाह र हवाई प्रवेश मार्गसम्मका विषयमा ठोस सहमति जुटाउन सक्नु प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।

जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन हुने

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने अर्को महत्वपूर्ण कार्यक्रम पनि समावेश गरिएको छ।

नेपालको जनकपुरधाम र भारतको अयोध्याधामलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने तयारी गरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको समाचारमा उल्लेख छ।

यसबाट दुई देशबीच धार्मिक पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चार मन्त्रीसहितको प्रतिनिधिमण्डल भारत जाने

प्रधानमन्त्री शाहको भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने बताइएको छ। स्रोतका अनुसार प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ रहनेछन्।

विभिन्न मन्त्रालयसँग सम्बन्धित परियोजना र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न सम्बन्धित मन्त्रीहरूलाई समेत भ्रमणमा सहभागी गराउन लागिएको हो।

प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ। तर पुराना सहमति कार्यान्वयन, नयाँ हवाई रुट, सीमा समस्या तथा आर्थिक सहयोगका विषयमा कस्तो सहमति जुट्छ भन्ने कुराले भ्रमणको उपलब्धि निर्धारण गर्नेछ।