Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेनजी आन्दोलनमा आफूहरूमाथि ठूलो षड्यन्त्र भएको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने उद्देश्यले गगन थापाले विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाएका छन्। इतर पक्षको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूमाथि आक्रमण गर्ने व्यक्तिलाई समेत चुनावमा टिकट दिइएको दाबी गरेका हुन्।

देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणको प्रसंग पनि उठाए। उनले आफूहरूमाथि ज्यानै लिने उद्देश्यले आक्रमण भएको दाबी गर्दै त्यस घटनाबाट बल्लतल्ल ज्यान जोगिएको बताए।

‘यो काल आउनुपर्छ नत्र मरिन्न भन्ने कुरामा मलाई विश्वास छ। मेरो श्रीमती आरजु र मलाई मार्ने हिसाबको अवस्था थियो। अझैसम्म घाउ छ। सेनाले बल्लतल्ल लगेर उपचारपछि बाँच्यौँ,’ उनले भने।

उनले जेनजी आन्दोलनका क्रममा आफूहरूमाथि आक्रमण हुँदा केही जेनजी युवाले बचाएको दृश्य फोटो तथा भिडियोमा देखिएको पनि बताए। तर जेनजीको नाममा ५० वर्षभन्दा माथिका व्यक्तिहरूले आफूहरूमाथि आक्रमण गरेको उनको आरोप छ।

‘जेनजीको नाममा ५० वर्ष माथिकाले हामीलाई आक्रमण गरे। पिटे, ढुङ्गाले हाने। त्यहाँ धेरै ठूलो षड्यन्त्र थियो,’ देउवाले भने।

आफूमाथि आक्रमण गर्ने र आफ्नो घरमा आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने व्यक्तिलाई समेत पार्टीले चुनावमा टिकट दिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘अब शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्ने र मलाई झन्डै मार्ने मान्छेलाई पनि टिकट दिइयो। कुरा स्पष्ट भइसक्यो,’ उनले भने।

पूर्वसभापति देउवाले विशेष महाधिवेशनमार्फत पार्टीलाई योजनाबद्ध रूपमा कब्जा गर्ने प्रयास भएको आरोपसमेत लगाए। उक्त प्रक्रियाविरुद्ध आफू न्यायका लागि अदालत पुगेको उनको भनाइ छ।