Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खेलकुदको अनुभवले अभिनयमा सहज

बागमती प्रदेशको राजधानी मकवानपुर, हेटौंडा १७ हटियाका स्थानीय वासिन्दा राकेश कुमार राईको जीवनयात्रालाई हेर्दा एउटा साझा सूत्र देखिन्छ—अनुशासन, निरन्तर अभ्यास र सिक्ने चाहना । तेक्वान्दोबाट सुरु भएको यात्रा राईको व्यावसायिक यात्राको महत्वपूर्ण आधार तेक्वान्दो हो । लामो समयदेखि तेक्वान्दोसँग जोडिएका उनले खेलाडीका रूपमा सुरु गरेको यात्रा प्रशिक्षक र नेतृत्वदायी भूमिकासम्म पु¥याएका छन् । इन्टरनेसनल मार्सल आट्र्स एकेडेमी नेपालका संस्थापक तथा मुख्य प्रशिक्षक, राष्ट्रिय तेक्वान्दो संघ नेपालको महासचिवको जिम्मेवारीमा रहेर तेक्वान्दोको विकास, खेलाडीको अवसर विस्तार, प्रतियोगिता आयोजना तथा प्रशिक्षक र रेफ्री विकासलगायत समग्र तेक्वान्दो खेलको बिकासको लागि काम गरिरहेका राई कलाकारिताको क्षेत्रमा पनि त्यतिकै सक्रिय छन् । उनि अभिनित चलचित्र ‘चंगुल’ गत महिना प्रदर्शनमा आएको थियो ।
टेलिफिल्म ‘तलास’बाट अभिनय यात्रा सुरु गर्नु भएका नायक राकेश कुमार राईले त्यसपछि चलचित्र ‘गोरे’, ‘मुग्लान’, र अहिले ‘चंगुल’ मा अभिनय गरेका छन् । अभिनेता राकेश कुमार राई अभिनयमा मात्रसिमित छैनन् खेलकुद, शिक्षा र सामाजिक योगदानमा उनको अग्रणी भुमिका रहदै आएको छ । उनको दाजु रामेशकुमार राई पनि चलचित्र निर्देशनमा हुनुहुन्छ । घरको वातावरण नै फिल्मी भएकाले दर्जनौं चलचित्रमा सानो–ठूलो भूमिकामा अभिनय गरिसकेका राई खेलकुद र चलचित्र दुई डुंगाको यात्रा जस्तो देखिएपनि सन्तुलन मिलाउन सकियो भने यात्रा सहज हुने बताउछन् ।
खेलकुदको मैदानदेखि चलचित्रको पर्दासम्म, प्रशिक्षण कक्षादेखि विश्वविद्यालयको कक्षा कोठासम्म र लेखनदेखि सामाजिक योगदानसम्म—राकेश कुमार राईको यात्रा एउटै क्षेत्रमा सीमित छैन । तीन दशकभन्दा बढी समय तेक्वान्दो र खेलकुदमा बिताएका राई अहिले अभिनेता, खेलकर्मी, प्रशिक्षक, शिक्षक, लेखक तथा खेल विज्ञानमा रुचि राख्ने व्यक्तिका रूपमा आफ्नो पहिचान विस्तार गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट खेलकुद विज्ञानमा स्नातकोत्तर गरेका उनले तेक्वान्दो–(डब्लुटी) को सन्दर्भमा आधारित पुस्तक प्रकाशन समेत गरेका छन् ।
चलचित्र ‘चंगुल’ मा चरित्रलाई पर्दामा विश्वसनीय बनाउन उनले संवाद, हाउभाउ, शारीरिक भाषा र चरित्रको मनोविज्ञानमा विशेष ध्यान दिएको बताउदै उनले भने ‘मेरो खेलकुद र मार्सल आट्र्सको अनुभवले पनि एक्सन तथा शारीरिक रूपमा प्रस्तुत गर्नुपर्ने दृश्यहरूमा केही सहजता दिएको र अभिनयमा केवल शारीरिक क्षमता पर्याप्त हुँदैन, चरित्रको भावना र कथालाई बुझेर प्रस्तुत गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ खेलकुद र अभिनय दुवैमा अनुशासन, निरन्तर अभ्यास, आत्मविश्वास, धैर्य र प्रस्तुति अत्यन्त महत्वपूर्ण हुने बुझेका राई भन्छन् ‘तेक्वान्दोले मलाई शरीरसँगै मन र भावनालाई नियन्त्रण गर्न सिकाएको छ । अभिनयले भने मानिसको भावना र चरित्रलाई बुझेर त्यसलाई पर्दामा प्रस्तुत गर्न सिकाएको छ । त्यसैले मेरो खेलकुदको लामो यात्राले अभिनयमा पनि सकारात्मक आधार तयार गरेको छ ।’
‘अभिनय भनेको अर्को व्यक्तिको जीवन र भावना केही समयका लागि आफूभित्र महसुस गरेर दर्शकसमक्ष प्रस्तुत गर्ने कला हो । कलाकारले आफूलाई मात्र देखाउने होइन, चरित्रलाई देखाउने हो । त्यसैले अभिनयमा आत्मविश्वाससँगै संवेदनशीलता, अध्ययन र निरन्तर अभ्यास आवश्यक हुन्छ’, उनले भने ‘खेलकुद र अभिनय दुई फरक क्षेत्र भए पनि केही आधारभूत कुरा समान छन् । खेलकुदमा जस्तै अभिनयमा पनि नियमित अभ्यास, अनुशासन, धैर्य, आत्मविश्वास र असफलताबाट सिक्ने क्षमता चाहिन्छ । तेक्वान्दोमा एउटा प्रविधिलाई राम्रो बनाउन हजारौं पटक अभ्यास गरिन्छ । अभिनयमा पनि एउटा चरित्रलाई विश्वसनीय बनाउन निरन्तर अभ्यास आवश्यक हुन्छ । त्यसैले खेलकुदको
अनुभवले अभिनयमा मलाई धेरै सहयोग गरेको छ ।’