Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन्। संघको शुक्रबार हुने ४०औँ वार्षिक साधारणसभाबाट रेग्मी निर्विरोध अध्यक्ष बन्ने भएका हुन्।
संघको वर्तमान उपाध्यक्षसमेत रहेका रेग्मीलाई अध्यक्ष बनाउने विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच सहमति जुटेको हो। संघसम्बद्ध स्रोतका अनुसार रेग्मी अध्यक्ष बनेपछि रिक्त हुने उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउनेछन्।
राजधानीस्थित होटल मर्क्युरमा आयोजना हुने साधारणसभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ। नेपाल बैंकर्स संघमा लामो समयदेखि उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्परा रहँदै आएको छ। सोही अभ्यासअनुसार रेग्मीले अब संघको नेतृत्व सम्हाल्न लागेका हुन्।
संघमा पछिल्लो १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास निरन्तर छ। यद्यपि, दुई वर्षअघि भने यो परम्परा कायम रहने विषयमा अन्योल उत्पन्न भएको थियो।
२०८१ पुसमा सम्पन्न संघको ३८औँ वार्षिक साधारणसभाका बेला माछापुच्छ्रे बैंकका तत्कालीन सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्ष पदमा दाबी गरेका थिए। अध्यक्ष चयनका विषयमा बैंकका प्रमुख कार्यकारीहरूबीच प्रतिस्पर्धा देखिएपछि पूर्वअध्यक्षहरूले समेत सहमति जुटाउन पहल गरेका थिए।
अन्ततः शेरचनले आफ्नो दाबी फिर्ता लिएपछि कोइराला अध्यक्ष र रेग्मी उपाध्यक्ष बनेका थिए। अहिले त्यही सहमतिअनुसार रेग्मीलाई अध्यक्ष बनाउने बाटो खुलेको हो।
कार्यसमितिमा पनि फेरबदल
नयाँ अध्यक्ष र उपाध्यक्ष चयनसँगै नेपाल बैंकर्स संघको कार्यसमितिमा समेत परिवर्तन हुने भएको छ। हाल अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्रराज रेग्मी रहेको कार्यसमितिमा कुमारी बैंकका रामचन्द्र खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह सदस्य छन्।
साधारणसभापछि एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिने भएका छन्। संघको व्यवस्थाअनुसार लगातार दुई कार्यकालभन्दा बढी कार्यसमितिमा रहन नपाइने भएकाले खालिङ बाहिरिन लागेका हुन्। यस्तै, लक्ष्मी सनराइज बैंकमा आफ्नो कार्यकाल पूरा गरेसँगै शाह पनि कार्यसमितिबाट अलग हुनेछन्।
उनीहरूको स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य कार्यकारिणी सदस्यका रूपमा आउने सहमति भएको छ।
नयाँ कार्यसमितिमा वाणिज्य बैंकका अनुभवी प्रमुख कार्यकारीहरूको प्रतिनिधित्व रहनेछ। नयाँ नेतृत्वसामु बैंकहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने, बैंकिङ क्षेत्रका साझा समस्या समाधानका लागि पहल गर्ने तथा नीतिगत विषयमा नेपाल राष्ट्र बैंक र सरकारसँगको संवादलाई थप सशक्त बनाउने जिम्मेवारी हुनेछ।
नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरूको साझा प्रतिनिधिमूलक संस्था हो। ब्याजदर, तरलता व्यवस्थापन, नियामकीय व्यवस्था, बैंकिङ व्यवसाय र नीतिगत सुधारलगायत विषयमा संघले सदस्य बैंकहरूको साझा धारणा प्रस्तुत गर्दै आएको छ। त्यसैले नयाँ नेतृत्वले बैंकिङ क्षेत्रका विद्यमान चुनौती र साझा मुद्दालाई कसरी अघि बढाउँछ भन्ने विषयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल