Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिन दबाब दिएको इनमको आरोप

काठमाडौं। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। सापकोटाकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा निवेदन दिँदै श्रीमान्को रिहाइ तथा सुरक्षाको माग गरेकी छन्।

आयोग स्रोतले उजुरी दर्ता भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान अघि बढाइने जनाएको छ। हिरासतमा रहेका व्यक्तिको पनि आधारभूत मानव अधिकार हुने भएकाले सापकोटामाथि कानुनअनुसार व्यवहार भएको छ कि छैन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरिने आयोगको भनाइ छ।

आयोगमा बुझाइएको निवेदनमा प्रहरीले सापकोटालाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर विभिन्न मुद्दामा फसाउन खोजेको गम्भीर आरोप लगाइएको छ। निवेदनअनुसार, २०८३ असोज १४ गते नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच कक्षमा पुगेका बेला प्रहरीले उनका दुईवटा मोबाइल खोसेर आँखामा पट्टी बाँध्दै अज्ञात स्थानमा पुर्‍याएको निवेदकको दाबी छ।

त्यहाँ असोज १५ गते साँझसम्म बन्धक बनाएर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र हिमालय होटलका नवीन तुलाधरलगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप निवेदनमा छ।

उनीहरूविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने प्रलोभन देखाउनुका साथै आफू र परिवारलाई ज्यानको खतरा हुने धम्कीसमेत दिइएको सापकोटाको दाबी छ। प्रहरीले तयार पारेको कागजमा आफूलाई थाहा नभएका र नगरेका विषय समेटिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि मानसिक यातना दिइएको पनि निवेदनमा उल्लेख छ।

निवेदनअनुसार, त्यसपछि सापकोटालाई जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याएर हिरासतमा राखिएको थियो। भोलिपल्ट काठमाडौंको पानीपोखरीस्थित निवासमा लगेर प्रहरीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पुरानो ल्यापटप, मोबाइल र सुटकेसभित्र रहेको विदेशी मुद्रा बरामद भएको भन्दै मुचुल्का तयार पारिएको उनको आरोप छ। विमानस्थलबाट दुई दिनअघि नै प्रहरीले खोसेको आइफोनसमेत घरबाट बरामद भएको देखाउन खोजिएको निवेदनमा दाबी गरिएको छ।

सापकोटामाथि विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिला तथा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको थियो। तर, आफूलाई सार्वजनिक सडकबाट नभई विमानस्थलको आन्तरिक सुरक्षा कक्षबाटै पक्राउ गरिएको उनको दाबी छ। घटनाको वास्तविकता पत्ता लगाउन विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्नसमेत उनले माग गरेका छन्।

प्रहरीले सुरुमा अभद्र व्यवहारको आरोपमा पक्राउ गरेको सापकोटाको साथबाट १ हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको भन्दै विदेशी विनिमयसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

त्यसपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थपेर थुनामा राख्ने प्रयास गरिएको निवेदकको आरोप छ। आफूले बोकेको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थाअनुसार कानुनसम्मत रहेको उनको दाबी छ।

विभिन्न व्यक्तिसँग जोडिएका अडियो, राजनीतिक तथा न्यायिक विषयमा आफूले भन्दै नभनेका कुरा स्वीकार गर्न प्रहरीले दबाब दिएको सापकोटाले निवेदनमा उल्लेख गरेका छन्। गैरकानुनी थुना र मानसिक यातनाबाट मुक्त गरी आफ्नो जीवन रक्षा गरिदिन उनले आयोगसँग आग्रह गरेका छन्।

पछिल्लो समय न्यायिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रका चर्चित व्यक्तिहरूसँग जोडिएका अनुसन्धान र पक्राउका घटनाक्रमबीच सापकोटाको उजुरीले प्रहरीको अनुसन्धान प्रक्रिया र हिरासतमा हुने व्यवहारबारे थप प्रश्न उठाएको छ।