Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद् र सडक दुवैबाट सरकारविरुद्ध प्रतिवाद गर्ने विपक्षीको तयारी

काठमाडौं। सरकारका पछिल्ला निर्णय र गतिविधिविरुद्ध विपक्षी दलहरू संसद् र सडक दुवैबाट प्रतिवाद गर्ने तयारीमा जुटेका छन्। नेकपा एमालेले संसद् अधिवेशन सुरु भएलगत्तै सरकारविरुद्ध चर्को आवाज उठाउने र सडक आन्दोलनसमेत अघि बढाउने चेतावनी दिएको छ।

‘सदन र देशभरका सडकमा अब एमाले चर्को हुनेछ,’ एमाले सांसद गुरु बरालले नेपालखबरसँग भने। उनका अनुसार संसद् बैठक सुरु भएकै दिनदेखि सरकारले गरेका निर्णय र गतिविधिमाथि विपक्षीले प्रश्न उठाउनेछन्।

सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने मिति तय गरिसकेको छैन। तर, प्रतिपक्षी दलहरूले तत्काल अधिवेशन आह्वान गर्न माग गरिरहेका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पनि सरकारका गतिविधिबारे संसद्मा प्रश्न उठ्न सक्ने प्रधानमन्त्री वालेन्द्र शाहको बुझाइ रहेको बताइएको छ। त्यसैले केही अध्यादेश ल्याएर मात्रै अधिवेशन बोलाउने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ।

रास्वपा सभापति रवि लामिछानेले पनि संसद् बैठक तत्काल बोलाउन दबाब दिँदै आएका छन्। यस विषयमा प्रधानमन्त्री शाहले आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी गरेको बताइएको छ।

यी मुद्दा उठाउने विपक्षीको तयारी

एमालेले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादको विषय नउठाएको, बाढीपीडितको पुनर्स्थापना, सुनकोसी–मरिण आयोजनाका अधिकारीमाथि गरिएको कारबाही, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदमुक्ति, न्यायालयको मर्यादा, महँगी र सुकुमबासी समस्यालाई संसद्मा प्रमुखताका साथ उठाउने तयारी गरेको छ।

एमाले सांसद बरालका अनुसार संसद् अधिवेशन तत्काल बोलाउन पार्टीले पहिलेदेखि नै माग गर्दै आएको छ। प्रतिपक्षी दलहरूको सर्वदलीय बैठकबाट पनि सरकारलाई ध्यानाकर्षण गराइएको र सभामुखलाई भेटेर समेत अधिवेशन आह्वान गर्न आग्रह गरिएको उनले बताए।

‘हाम्रो जोड मंसिर १५ गतेभित्र संसद्को बैठक बोलाउनुपर्छ भन्ने हो। राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै विषय र सन्दर्भको बहस संसद्भित्र गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ बरालले भने, ‘तत्काल संसद् नबोलाएर सरकारले अध्यादेशको घान लगाइरहेको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ।’

सरकारको नेतृत्व गरिरहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले भने संसद् अधिवेशन मंसिरको तेस्रो साता बोलाउने तयारी भइरहेको बताएका छन्।

बिहीबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच लामो छलफल भएको थियो। लामिछानेका स्वकीय सचिव प्रदीप आचार्यका अनुसार भेटमा आगामी संसद् अधिवेशनबारे पनि छलफल भएको थियो। यद्यपि, अधिवेशनको मिति भने सार्वजनिक गरिएको छैन।

एमालेले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सीमा विवादको विषय नउठाएको प्रसंग पनि संसद्मा प्रवेश गराउने भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा गएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भए पनि सीमा विवादबारे छलफल नगरेको भन्दै एमालेले प्रश्न उठाउने तयारी गरेको हो।

‘मित्रराष्ट्र भारतको भ्रमण गर्दा प्रधानमन्त्रीले सीमा विवादको विषयमा एक शब्द पनि उच्चारण गर्नुभएन। मोदीसँग यस विषयमा संवाद नगर्नु अत्यन्त गम्भीर विषय हो,’ बरालले भने।

त्यस्तै, भोटेकोसी, कालीगण्डकी र बूढीगण्डकी क्षेत्रका बाढीपीडितको पुनर्स्थापनामा सरकारले पर्याप्त चासो नदिएको एमालेको आरोप छ। प्रभावित नागरिकको आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थाबारे संसद्मा सरकारसँग जवाफ मागिने बरालले बताए।

गत भदौ १० गते भोटेकोसीमा आएको हिमपहिरोसहितको बाढीले रसुवा, नुवाकोट र धादिङसहित पाँच जिल्ला प्रभावित बनेका थिए। बाढीका कारण हजारौँ परिवार विस्थापित भएको र प्रभावित क्षेत्रमा पुनर्स्थापनाको काम प्रभावकारी हुन नसकेको एमालेको दाबी छ।

‘बाढी गएको तीन महिना बितिसक्यो। बाढीपीडित नागरिकको दैनिकी, आवास, शिक्षा, स्वास्थ्यसँगै रोजगारीका विषयमा सरकारले प्रभावकारी काम गरेको छैन,’ बरालले भने।

सुनकोसी–मरिण डाइभर्सन आयोजनाका परियोजना निर्देशक र सिँचाइ विभागका महानिर्देशकलाई पक्राउ गरिएको विषयमा पनि एमालेले आपत्ति जनाएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा लगेर यसअघि भएका निर्णय खारेज गराइएको भन्ने विषयलाई समेत पार्टीले संसद्मा उठाउने तयारी गरेको छ।

प्रहरी महानिरीक्षक परिवर्तनको विषयमा पनि एमालेले सरकारको आलोचना गर्ने भएको छ। प्रहरी संगठनको संस्थागत मर्यादा र सुरक्षाकर्मीमाथिको हस्तक्षेपबारे सरकारसँग जवाफ मागिने बरालले बताए।

‘सुरक्षाकर्मीमाथि जसरी हस्तक्षेप भएको छ, संस्थागत मर्यादामाथि जसरी उलटफेर गरिएको छ र आईजीपीलाई पदबाट हटाएर नयाँ आईजीपी ल्याउने काम गरिएको छ, कानुनी राज्यमा यस किसिमका गतिविधिले स्थान पाउनु हुँदैन,’ उनले भने।

न्यायालयको अवस्था, प्रधानन्यायाधीश नियुक्तिमा मर्यादाक्रम मिचिएको विषय, महँगी र सुकुमबासी समस्यालाई पनि एमालेले संसद् र सडकमा उठाउने जनाएको छ।

‘यी सबै विषय संसद्भित्र हामी र बाहिर सडकमा सरोकारवाला तहबाट उठाउँछौँ। किसान, महिला, विद्यार्थी र मजदुरले पनि आफ्ना कुरा राख्नेछन्। संसद् र सडकको संघर्षबीच उपयुक्त तालमेल मिलाएर अगाडि बढ्छौँ,’ बरालले भने।

नेकपा र कांग्रेस पनि सरकारविरुद्ध उभिने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि संसद् अधिवेशन सुरु भएलगत्तै सरकारका निर्णयमाथि कानुनी र राजनीतिक प्रश्न उठाउने तयारी गरेको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले कानुनअनुसार काम गरेको छ कि छैन भन्ने विषयमा संसद्मा जवाफ मागिने बताए।

‘संसद्मा अहिलेसम्म सरकारले गरेका गलत कामकै विषय उठाउँछौँ। कानुनी हिसाबले सरकार चलेको छ कि छैन? आईजीपी बर्खास्त प्रकरणमा अवलम्बन गरिएको प्रक्रियामाथि प्रश्न उठाउँछौँ,’ उनले भने।

नेकपाले सडक आन्दोलनका लागि आफ्ना मातहतका संगठनलाई समेत परिचालन गर्ने तयारी गरेको छ। यसका लागि पूर्वजनमुक्ति सेनालाई सम्पर्कमा बोलाइएको र वाईसीएल, विद्यार्थी लगायतका भ्रातृ संगठनलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

नेपाली कांग्रेसले पनि सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध सशक्त रूपमा उभिने जनाएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिविरुद्ध निडर भएर आवाज उठाउनुपर्ने बताएका छन्। कांग्रेस डराए मुलुकको लोकतन्त्र नै संकटमा पर्ने उनको भनाइ छ।

पौडेलले संसद्को अवमूल्यन, महँगी, राष्ट्रिय हितमाथिको आघात, प्रेस स्वतन्त्रता र आर्थिक मन्दीका विषय उठाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीका सचिवालय विवाद, सुनकोसी–मरिण आयोजनामा अनियमितताको आशंका र राहदानी प्रकरणका प्रश्नमा निष्पक्ष छानबिन हुनुपर्ने कांग्रेसको माग छ।

त्यस्तै, न्यायपालिका, सुरक्षा निकाय र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने पौडेलको धारणा छ।

मधेसकेन्द्रित दलहरू पनि आन्दोलनको तयारीमा

मधेसकेन्द्रित दलहरूले पनि सरकारविरुद्ध आन्दोलनको वातावरण बनाइरहेका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारविरुद्ध निर्णायक आन्दोलन आवश्यक रहेको बताएका छन्।

‘कतिपय ठाउँमा राज्य आतंकजस्तो अवस्था छ। जनताले उकुसमुकुस अनुभव गरिरहेका छन्। लोकतन्त्र भनेको लोकतान्त्रिक संस्थाहरू बलियो हुनु हो। तर ती सबै कमजोर र निष्क्रिय हुँदै गइरहेका छन्। यस्तो अवस्थामा आवाज नउठाएर के गर्ने?’ यादवले भने।

यादव नेतृत्वको जसपा नेपालसहित मधेसकेन्द्रित र सीमान्तकृत समुदायका नौ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेर आन्दोलनको तयारी गरिरहेका छन्। मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन्।

मंसिर १५ गते बस्ने मोर्चाको बैठकले आन्दोलनको मिति र स्वरूपबारे निर्णय गर्ने नेताहरूले बताएका छन्। मोर्चाले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार र जनजीविकासँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।

ओलीको आह्वान : लोकतन्त्र र संविधान रक्षाका लागि दलहरू एक ठाउँमा उभिनुपर्छ

यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै त्यसको रक्षाका लागि संविधान निर्माणमा सहभागी दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले २०४६ सालमा पञ्चायतविरुद्ध दलहरू एकजुट भएजस्तै अहिले पनि लोकतान्त्रिक शक्तिबीच न्यूनतम सहमति आवश्यक रहेको बताए।

‘यो लेफ्ट र राइटको कुरा होइन यतिखेर। जसरी २०४६ सालमा पञ्चायत ढाल्दा कांग्रेस र लेफ्ट एलायन्स बनाएर आन्दोलन गरेका थियौँ, अहिलेको परिस्थितिमा पनि लोकतान्त्रिक शक्तिबीच न्यूनतम सहमति आवश्यक छ,’ उनले भने।

लोकतन्त्र, शान्ति, स्थिरता र संविधानको रक्षाका लागि दलहरू मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

विपक्षी दलहरूले संसद् अधिवेशन सुरु भएलगत्तै सरकारका निर्णय, सुरक्षा निकायको नेतृत्व परिवर्तन, न्यायालय, सीमा विवाद र जनजीविकाका सवाल उठाउने तयारी गरेका छन्। संसद् बाहिर पनि आफ्ना संगठन र मोर्चालाई तयारी अवस्थामा राखेका विपक्षी दलहरूको यो रणनीतिले आगामी दिनमा सरकार र प्रतिपक्षबीच राजनीतिक टकराव बढ्ने संकेत गरेको छ।