Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेना र प्रहरीभित्र रअको जालो

भारतीय खुफिया एजेन्सी रअका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेपछि विवाद र बहस सिर्जना भएको छ । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको दूतको रुपमा रअको प्रमुखलाई भेटेको भनेर भनेका छन् । कुनै पनि विदेशी गुप्तचरलाई यसरी भेट्नु निन्दनीय छ । यद्यपि रअको घुसपैठ नेपालमा विगतमा सेनादेखि प्रहरी र राजनीति दलसम्म थियो । त्यसलाई कसरी लिने ? दरबार हत्याकाण्डको समयमा रअका पूर्व प्रमुख पीके हर्मिज थाराकन तत्कालिन नेपाली सनोका सहसेनानी दिलीप समशेर जबराको काठमाडौं विशाल नगरको घरमा बस्दथे । राज वीरेन्द्रको हत्या गरेको सेनाको सहसेनानी कर्णेलको घरमा रअको अधिकारी बस्नुलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट कसरी लिने ? स्मरण रहोस्, दिलीप समशेर जबरा पूर्व प्रधानसेनापति धर्मपालबरसिंह थापाका ज्वाई पनि हुन् । पूर्व प्रधान सेनापति थापा र रुकमाङगद कटवालको नयाँ दिल्लीको गुडगाउँमा मानार्थ सेनालाई दिने सुविधाअन्तर्गत घर नै छ । कपिलवस्तुका सांसद मिर्जा दिलसादबेगको काठमाडौंको सिफलमा हत्या गरियो । उनको हत्या गर्ने सुटर पूर्व आईजीपी हेमबहादुर सिंहको घरमा बसेका थिए ।

उनका छोरा प्रबन्धजंगबहादुर सिंह पूर्व युवराज पारसका साथी हुन् भने अहिले ब्याग र बेद्यनाथको रुपमा पशुपतिको मृगस्थलीको गोरखनाथ मठमा छन् । यसरी सेना र प्रहरीभित्र घुसपैठ रअको मिसनरीलाई कसरी लिने ? २०६२ मंसिरमा भारतमा भएको १२ बुँदे दिल्ली सम्झौताको ड्राफ्ट रअले नै गरेको कुरा नारायणमान बिजुक्छेले खुलासा गरिदिएका छन् । यो कुरा सार्वजनिक भएपछि नारायणकाजी श्रेष्ठ र माधव नेपाल रअको बचाउ गर्न सबैभन्दा अग्र भागमा उभिएर हामीले गरेकाहौं रअले होइन भन्दै अगाडि आएको कुरा रेकर्डमा छ । के १२ बुँदेका अंसियारलाई रअप्रमुखले बालुवाटारमा ओलीलाई भेटेकोमा आलोचना गर्ने नैतिक अधिकार छ ? माधव नेपाल त रअको योजनामा २०४५ सालमा ललितपुरको च्यासलमा बसेको तत्कालिन मालेको बैठकमा भारतले हतियार दिन्छ राजा फाल्नतिर लागौं भन्दा मदन भण्डारीले झपारेको कुरा त उक्त बैठकमा सहभागी राधाकृष्ण मैनालीले खुलासा गरिदिएका छन् । माधव नेपालले २०४५ सालमा तत्कालिन मालेमा घुसाउन खोजेको त्याही एजेन्डा २०५२ सालपछि प्रचण्डले बोकेका होइनन् र ?

यसकारण बालुवाटारमा रअ प्रमुखले ओलीलाई भेटेको विषयमा यी कुनै पनि पात्रहरूले नैतिक प्रश्न उठाउने सामथ्र्य राख्दैनन् । यसकारण प्रचण्ड, माधव र नारायणकाजी जस्ता रअले प्रयोग गरेका र अहिले पनि पर्दाभित्रबाट लुकामारी खेलिरहेका पात्रहरूले ओलीको खुला भेटलाई प्रश्न उठाउने नैतिकता छैन । यसको अर्थ ओली ठिक छन् भन्ने होइन । मदन हत्यापछि माधव र ओलीको उदय राष्ट्रघाती महाकाली सन्धि र एमसीसीमा ओलीको निर्वस्त्र भएको राष्ट्रवाद बालुवाटरमा रअप्रमुखको भेटसम्म आइपुगेको छ ।

जहाँसम्म बाहिर देखिएका २० बामदल मोहन वैद्यदेखि नेत्रविक्रम चन्द यिनीहरू पनि रअको घेराभन्दा बाहिर छैनन् । नेत्रविक्रम चन्दको एकीकृत जनक्रान्तिको कार्यदिशा त सेना र प्रहरीसँग समेत मिलेर गर्न सकिने भनेर खुला दस्तावेजमै लेखिएको छ । उनले संकेत गरेका सेना र प्रहरी हेमबहादुर सिंह र दिलीप समशेर जबरा जस्तै हुन् । दक्षिण भारतको चर्चबाट सञ्चालित मोहन वैद्य हुन् या राष्ट्रिय पञ्चायतका पूर्व सदस्य भुपाल किराँतीका भान्से जसले नेपाल प्रहरीको गुप्तचरमा प्रवेश गराएका गोपाल किराँतीहरूको राष्ट्रवाद र क्रान्ति बारेमा धेरै टिप्पणी गर्नु पर्दैन । २०६०/०६१ तिर प्रेम कैदीलाई प्रधानमन्त्री बनाए सबै समस्या हल हुन्छ भनेर दरबारमा निवेदन दिएका गोपाल किराँती र प्रेम कैदीहरूमा तात्विक भिन्नता छैन । यिनीहरूको राष्ट्रवाद र क्रान्ति विगतमा प्रचण्ड–बाबुरामको क्रान्ति जस्तै दिल्लीको लोदी रोडमा रहेको रअको हेर्डक्वार्टर र क्रिश्चियनहरूको केन्द्र भ्याटिकन सिटी नै हो । हो ओलीले रअका प्रमुखलाई भेट गरे, प्रधानमन्त्री मोदीको दूतको रुपमा । त्यसो भए भेटभन्दा पूर्व राष्ट्र र जनतालाई यसबारेमा किन जानकारी दिइएन ?

यसबाट प्रधानमन्त्री ओलीको नियतमाथि आशंका उठ्नु अस्वाभाविक होइन । नेपालमा रअको सबैभन्दा ठूलो केन्द्र भनेकै मदन भण्डारी र राजा वीरेन्द्रको कत्लेआम गरेको सैन्य हेर्डक्वार्टर नै हो । २० बाम दल हुन् या नागरिक अभियन्ताका नाममा एजेन्डा विहीन अराजक झुन्डहरू या मरिसकेको प्रतिपक्ष काँग्रेस । त्यही वीरेन्द्र मार्ने सैन्य हेर्डक्वार्टरसँग जोडिएका मतियार मात्र हुन् । यसकारण भारतको मानार्थ र इन्डो प्यासिफिक रणनीतिमा सामेल र राष्ट्रसंघको शान्ति सेना कम्बोडियामा नराेद्दम सिंहानुकको अपदस्थतापछि विघटन गरिए जस्तै विघटन नै गरिनु पर्दछ । या यसको संख्या घटाउनु पर्दछ । यो पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसीको सेना होइन । योगी भगवन्तनाथले दिएको तरबार बोकेर राष्ट्र एकीकरणमा सामेल भएको सेना होइन । गोरखनाथको सुक्ष्म शक्तिले नेपाल एकीकरण गरेको सेना होइन । कोतपर्वमार्फत् देशभक्तहरूको हत्या गर्ने जंगबहादुरलाई साथ दिएको र राजा वीरेन्द्रको हत्याको मतियार बनेको सेना हो । यो नेपाली जनता र राष्ट्रलाई आवश्यक पनि छैन । जनताको बीचमा जनपथ प्रहरी छ भने सीमानाको सुरक्षामा सशस्त्र प्रहरी । यो सेना केको लागि ? देशभक्तहरूको हत्या गराउन ? अराजकतावादीहरूलाई पर्दाभित्र संरक्षण गरेर देशलाई अस्थिरतामा राख्न ? आफैंमा प्रश्न चिन्ह खडा भएको छ ।

किन आए रअ प्रमुख ?
खासगरी दरबार हत्याकाण्ड र २०६२÷०६३ पछि आफ्नो पकडमा नेपाल रहेको ठानेका भारत र अमेरिकीहरू चीनको सशक्त उपस्थितिपछि अतालिएका छन् । यो अवस्थामा अझै पनि दबरार हत्याकाण्ड वा राजतन्त्रको विस्थापनपछिको अवस्थामा जस्तै आफ्नो पकडमा राख्न सकिन्छ भन्ने उद्देश्यका साथ चीनलाई नेपालमा कसरी रोक्ने ? यही अमेरिकी रणनीतिअन्तर्गत रअ प्रमुखको भ्रमण भएको देखिन्छ । एमसीसीमा निर्वस्त्र ओली अमेरिकी कित्तामा रहेकाले अमेरिकी रणनीतिअनुसार रअप्रमुखको भ्रमण भएकाले ओलीले बालुवाटारमा खुला रुपमा स्वागत गरेका हुन सक्छन् । हुन त ओलीले यसलाई मोदीको दूतको रुपमा भेटेको भनेका छन् ।

कागले कान लग्यो भनेर हल्ला गर्ने र कुखुरा चोर्ने छट्टु स्यालहरू विगतमा राष्ट्रवादको नारामा माओवादी रअले परिचालन गर्ने तर हल्ला चीनले चलायो भनेर गरेजस्तै गरी सडकमा देखिएका छन् । एक दुई जना अपवादबाहेक सामाजिक अभियन्ताहरू भनेका यस्तै छट्टु स्यालहरू हुन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना केही होइन भन्दै सर्वसाधारणलाई भड्काउनेहरूदेखि देशमा निराशा मात्रै बाँड्नेहरू यिनै अराजकतावादीहरू हुन् । हो, कोरोनाको विषयमा सरकारको लाचारीपन, भ्रष्टपना, देश र जनताप्रतिको गैर जिम्मेवारीको आलोचना गर्नु पर्दछ ।

चीन रोक्छु भन्नेहरू समाप्त हुनेछन् । राजा वीरेन्द्रको हत्या गरेको सेनाले हेक्का राखोस्, तिमीहरूको सर्वनास त निश्चित छ नै । अब वीरेन्द्र हत्याको बदला चीनले लिएरै छाड्छ । यो अवस्थामा भारत र अमेरिकी आडमा सुरक्षित ठान्ने सपना नदेख्दा हुन्छ । यो २०५८ जेठ १९ होइन, ओली, प्रचण्ड र शेरबहादुरले घुँडा टेके पनि सम्भव छैन । जनताबाट तिरस्कृत सेनाको औचित्य त २०५८ जेठ १९ मै सकिएको छ । शान्ति सेनाको पैसा ब्याजमा लगाएर, पेट्रोलपम्प चलाएर खाने सेना नेपाली जनतालाई आवश्यक छैन । त्यसको लागि विनोद चौधरी, गोल्छा र दुगडहरू नै छन् । अब नेपालमा चीनलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्न खोज्नु हो भन्ने कुरा हेक्का राख्दा हुन्छ । हो जनतामा निराशा छ र राजनीतिक दलहरूप्रति वितृष्णा छ । त्यसको विकल्प पनि तिनै दलभित्र छ । वीरेन्द्रको हत्या गर्ने रक्तपिपासु इन्डो अमेरिकी केन्द्रको पुनस्र्थापना होइन । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार