Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असोज ९ र १० गते भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेषगरी असोज ९ गते शुक्रबार र १० गते शनिबार देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्साअनुसार आगामी चार दिन देशका विभिन्न क्षेत्रमा मौसमी जोखिम फरक–फरक रहनेछ।

बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको जोखिम तुलनात्मक रूपमा कम रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका धेरैजसो भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबारदेखि भने वर्षाको जोखिम थप बढ्ने अनुमान गरिएको छ। असोज ९ गते शुक्रबार पूर्वी तथा मध्य नेपालका अधिकांश क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका मध्यपहाडी तथा हिमाली क्षेत्रमा अति भारी वर्षाको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

शनिबार वर्षाको प्रभाव पश्चिमतर्फ सर्ने अनुमान गरिएको छ। असोज १० गते सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा अति सतर्कता अपनाउनुपर्ने चेतावनी दिइएको छ। त्यस दिन पश्चिम तथा मध्य नेपालका अन्य क्षेत्रमा पनि वर्षाको जोखिम रहनेछ। पूर्वी भूभागमा भने वर्षाको प्रभाव क्रमशः कम हुँदै जाने अनुमान छ।

आइतबारदेखि भने मौसमी जोखिम क्रमशः घट्दै जाने महाशाखाले जनाएको छ। असोज ११ गते आइतबार पश्चिमी भूभागमा सामान्य सतर्कता अपनाउनुपर्ने भए पनि पूर्वी क्षेत्रमा वर्षाको जोखिम उल्लेख्य रूपमा कम हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार लगातार तथा भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र भू–क्षय तथा तराई र सहरी क्षेत्रमा डुबान र बाढीको जोखिम बढ्न सक्छ। त्यसैले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ।

विशेषगरी शुक्रबार र शनिबार यात्रा गर्दा मौसमको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न महाशाखाले सुझाव दिएको छ। भारी वर्षाका कारण सडक तथा राजमार्गमा पहिरो जाने, यातायात प्रभावित हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा थप सावधानी अपनाउन आग्रह गरिएको छ।