Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिगेजसँग विवाह

काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका तथा मोडल–प्रभावक जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्।

रोनाल्डो र जर्जिनाले पोर्चुगलमा नागरिक समारोहबीच विवाह गरेका हुन्। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनीहरूले अगस्ट ११ मा लिस्बननजिकैको समुद्री सहर कास्काइसमा विवाह गरेका हुन्। विशेष समारोहमा उनीहरूका पाँच सन्तान पनि सहभागी थिए।

विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा आफ्नो विवाहको औँठी देखाउँदै तस्बिर सार्वजनिक गरेका थिए। उनको उक्त तस्बिर सार्वजनिक भएको करिब ३० मिनेटमै ३० लाखभन्दा बढी मनपराइ प्राप्त भएको जनाइएको छ।

रोनाल्डो र जर्जिना करिब १० वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट म्याड्रिडस्थित गुच्चीको पसलमा भएको थियो, जहाँ जर्जिना त्यतिबेला काम गर्थिन्। त्यसबेला रोनाल्डो स्पेनको चर्चित क्लब रियल म्याड्रिडबाट फुटबल खेलिरहेका थिए।

यो जोडीले गत वर्ष अगस्ट ११ मै विवाहका लागि इन्गेजमेन्ट गरेको घोषणा गरेको थियो। त्यसबेला जर्जिनाले आफ्नो इन्गेजमेन्टको औँठीको तस्बिर सार्वजनिक गर्दै जीवनभर रोनाल्डोसँगै रहने इच्छा व्यक्त गरेकी थिइन्।

करिब एक दशक लामो प्रेम सम्बन्धपछि विवाहमा परिणत भएको रोनाल्डो र जर्जिनाको सम्बन्धलाई उनका समर्थक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन्।