Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति गगन थापाका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्ट भएपछि प्रदेश सरकारमा कांग्रेस–नेकपा सत्ता सहकार्यको सम्भावना टरेको दुवै पक्षका नेताहरूले बताएका छन्।
असार ३० गते कांग्रेस सभापति गगन थापा र प्रचण्डबीच भएको भेटवार्तामा प्रदेश सरकारमा मिलेर जाने विषयमा सैद्धान्तिक सहमति भएको थियो। सोही दिन कांग्रेस पदाधिकारी बैठकले एमालेसँग प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेपछि थापाले प्रचण्डसँग नयाँ समीकरणबारे छलफल गरेका थिए।
भेटपछि सभापति थापाले पार्टी पदाधिकारीलाई छलफल सकारात्मक रहेको जानकारी दिएका थिए। केही पदाधिकारीले आशंका व्यक्त गरे पनि प्रचण्डले सहकार्यको प्रतिबद्धता जनाएको भन्दै थापाले ढुक्क रहन आग्रह गरेका थिए।
तर, असार ३१ गते श्रीलंकाको भ्रमणमा गएका प्रचण्ड फर्किएपछि उनको धारणा परिवर्तन भएको कांग्रेस नेताहरूको दाबी छ।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाले श्रीलंका जानुअघि प्रचण्ड सत्ता सहकार्यका पक्षमा उत्साहित देखिए पनि फर्किएपछि त्यसबाट पछि हटेको बताए।
उनका अनुसार कांग्रेसले एमाले नेतृत्वमा रहेका प्रदेश सरकारको नेतृत्व लिने तथा कांग्रेस नेतृत्वका बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेकपालाई नेतृत्व दिने विकल्पबारे समेत छलफल भएको थियो। प्रचण्डले त्यसका लागि सहसंयोजक माधवकुमार नेपालसँग थप संवाद गर्न सुझाव दिएका थिए।
तर, साउन ३ गते नेपाल फर्किएका प्रचण्डले गगन थापाका पछिल्ला अभिव्यक्तिका कारण सहकार्य गर्न कठिन भएको बताएका थिए।
विशेषगरी थापाले २०७२ देखि २०८२ सम्मको दशकलाई कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ तथा ‘काला दिन’ भनेको अभिव्यक्तिप्रति प्रचण्डले असन्तुष्टि जनाएको नेताहरूको भनाइ छ। उक्त दशकमा शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गरेका थिए।
प्रचण्डनिकट एक नेताका अनुसार शासन सञ्चालनका कमजोरीबारे आत्मालोचना गर्न सकिने भए पनि सम्पूर्ण दशकलाई ‘काला दिन’ भन्नु पुराना राजनीतिक शक्तिको छवि कमजोर बनाउने प्रयास भएको उनको बुझाइ छ।
कांग्रेस स्रोतका अनुसार श्रीलंकाबाट फर्किएपछि भएको अर्को भेटमा प्रचण्डले गगन थापाका सार्वजनिक अभिव्यक्तिमै केन्द्रित भएर प्रश्न उठाएका थिए। त्यसपछि प्रदेश सरकारबारेको छलफल अघि बढ्न सकेन।
कांग्रेस सहमहामन्त्री राणाले सत्ता सहकार्य नभए पनि अन्य विषयमा सहकार्य गर्न कांग्रेस तयार रहेको बताए।
यसबीच, कांग्रेससँगको सम्भावित सहकार्य रोकिएपछि नेकपाले एमालेसँग नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेको छ। साउन ९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।
सोही सहमतिअनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भइसकेका छन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग थप छलफल गर्ने सहमति गरिएको छ।
नयाँ समीकरणपछि एमाले नेतृत्वका कर्णाली र लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ भने कांग्रेस नेतृत्वको सुदूरपश्चिम र बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ।
बागमतीमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाली पार्टी निर्णायक रहेकाले कांग्रेस नेतृत्वको सरकार हालसम्म कायम छ। सुदूरपश्चिममा नेकपा नेतृत्वको सरकार गठनका लागि एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ।
हाल मधेस र गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार सुरक्षित रहेको नेताहरूको भनाइ छ। २०८१ असार १७ मा केन्द्रदेखि सातै प्रदेशसम्म कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्य नवीकरणको प्रयास असफल भएपछि प्रदेशस्तरको राजनीतिक समीकरण पनि तीव्र रूपमा परिवर्तन भइरहेको छ।
२०८३ श्रावण १३
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल