Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गीत–सङ्गीतमा इज्जत छ

  • दिपक शर्मा, संगीतकार

यतिबेला चर्चाको शिखरमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ बोलको गीतले युवा संगीतकार दिपक शर्मालाई सांगीतिक आकाशमा थप उचाई मिलेको छ । राजेन्द्र थापाको शब्द, डेविट शंकर र सहिमा श्रेष्ठको स्वर समेटिएको ‘दर्शन सलाम’लाई दर्शक स्रोताले अत्याधिक रुचाएको छ । दिपक शर्माले ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ मा गरेको संगीत सिर्जना पनि सफल रह्यो । चाहे ‘पहिलो नम्बरमा’ होस्, वा ‘देख न चम्मा’ मात्र होईन उनका यि भन्दा अघिल्ला सिर्जनाहरू पनि दर्शकश्रोता रुचिका थिए । २०४२ सालमा म्याग्दी जिल्लामा जन्मेका उनी दुई दशक देखि निरन्तर संगीत क्षेत्रमा सक्रिय छन् । ‘पर्ख पर्ख मायालु’, ‘तिम्रो पिक्चर हिट’, ‘आँधीखोला’, ‘तिम्रा डोला डोला आँखा’ लगायत दर्जानौं हिट संगीतका संगीतकार दिपक शर्मा बिभिन्न अवार्ड तथा सम्मानहरूबाट सम्मानित भएका छन् । प्रसंशाको भुमिका नबाँधी संगीतकार दिपक शर्मासंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० दर्शन सलाम हिट हुँदै गर्दा कस्तो अनुभव भैरहेको छ ?
आफुले गरेको सिर्जना जनताको मन मनमा बस्न सफल हुदा अबस्य खुसी र रमाइलो त लागि नै हाल्छ । तर आज यो १७÷१८ बर्षको साङ्गीतिक दौरानमा धेरै गीत सुपरहिट भएपनि दर्शन सलाम हिट हुदा अझै नेपाली सङ्गीतलाई मजबुत बनाउने जिम्मेवारी थपिएको अनुभव भैरएको छ ।

० छक्का पञ्जा २ र ३ मा पनि सङ्गीत दिनु भएको थियो । ४ ले ह्याट्रिक नै गर्यो कस्तो लागीरहेको छ ?
हो, छक्का पञ्जा २ र ३ मा पनि सङ्गीत गरेको थिए त्यस्मा पनि ‘देखन चम्पा’ र ‘पहिलो नम्बरमा’ भन्ने गीत अत्याधिक मन पराइएको थियो । दुबै फिल्मको व्यापार पनि धेरै राम्रो भएको थियो त्यहि अनुरूप यो ४ मा पनि दर्शन सलाम हिट भयो । निरन्तर लगाब गरेर कर्ममा लाग्यो भने राम्रो हुदो रहेछ भन्ने अनुभव भैरहेको छ । अहिले बजार दर्शन सलामले बजार पिटिरहेको छ फिल्मपनि अत्याधिक चलिरहेको छ ।

० गीत सङ्गीत तर्फ आकर्षण हुनुको कारण ?
मलाई भगवानले नेपाली गीत जगतमै सङ्गीत गर्नको लागि पठाएको जस्तो अनुभव भैरहेको छ । सानैदेखि कला साहित्यमा रुचि थियो । त्यहि बिरुवा बड्दै आज यहाँसम्म आयो । मलाई लाग्छ म बाचिञ्जेल गीत सङ्गीतमै आकर्षित हुनेछु ।

० गीत सङ्गीतको लगानी बालुवामा पानी भन्छन नि ?
हो, गीत सङ्गीतमा मात्र हैन हरेक क्षेत्रमा कमजोर उपस्थिति भयो भने बालुवामा पानी हाले जस्तै हुन्छ । गीत सङ्गीतमा पनि अलि बुझेर अध्ययन गरेर धैर्य गरेर इमानदार बनेर बजारको माग बुझेर लगानी गर्यो भने सँधै बालुवामा पानी हालेको जस्तो हुदैन । मैले देखेको र भोगेको छु गीत सङ्गीतबाटै सन्सारमा धेरै कलाकारले नाम, दाम र इज्जत बनाएका छन् । नेपालमा पनि धेरै उदाहरणहरू छन । खै मलाई त राम्रै भैरहेको छ ।

० युटुब लगायत विभिन्न साइटहरूमा गीत सङ्गीत बेच्न सकिन्छ तर सर्जकले उचित मूल्य पाउदैनन् भन्ने कुरा साचो हो ?
साचो हो । अहिले युटुवमात्र नभएर गीत सङ्गीतलाई बजारिकरण गर्ने धेरै माध्यमहरू छन् । हामिले पनि अब आजको आवश्यकता र माग बुझ्नु पर्छ, दर्शक र स्रोताले गीत सङ्गीत सुने बापत पैसा आउँछ तर हामी अझै नयाँ नयाँ टेक्नोलोजी उपयोग गर्न सकेका छैनौ, अब एउटा सर्जकले कृयशनमात्र हैन त्यसलाई कसरी सुरक्षीत बजारमा लैजाने भन्ने कुरा बुझ्न जरुरी छ । मुल्य हुँदै नभएको हैन तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

० गीत सङ्गीतमा टिकिरहने सम्भावना कत्तिको देख्नुहुन्छ ?
मैले जतापनि अबसर नै अबसर देख्छु । साच्चै इमान्दार भएर गीत सङ्गीतमा अध्यन गरेर धैर्य राखेर निरन्तर लाग्न सक्यो भने गीत सङ्गीतमा जति पैसा र इज्जत अन्त छैन होला । मजाले टिक्न सकिन्छ तर टिक्न सक्ने आँट गरेर आउँनु पर्यो ।

० गीत सङ्गीत सम्बन्धि संस्थामा पनि आबद्ध हुनुहुन्छ संस्थाहितको लागि कुन पक्षलाई प्राथामिकतामा राख्नु भएको छ ?
हो म गीतसङ्गीत सम्बन्धि विभिन्न संस्थामा आवद्धछु, जस्तै राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा महासचिव छु । अनि राष्ट्रिय लोक साँस्कृतिक संघमा उपाध्यक्ष लगायत धेरै संघसंस्थामा आवद्ध छु जुन संस्थामा आवद्ध भएपनि मेरो मुल उदेश्य कला क्षेत्रमा लागेका कलाकारहरूलाई एकबध्द पारेर हामी कलाकारहरूकै सकारात्मक हकहितको लागि लागि परेको छु । त्यो त हजुरहरूले मेरो सकृयता देखिनै रहनु भएको छ ।

० सङ्गीतको श्रीबृध्दीमा के के गरें जस्तो लाग्छ ?
मैलेमात्र त कति नै के नै गर्न सक्छु र असली कलाकार मिलेर नेपाली सङ्गीतको उत्थान र आधुनिकीकरण गर्न पर्छ जस्तो लाग्छ । हामिले गर्न धेरै कुरा बाँकी छन् । हाम्रो बजार अझै बढाउनु छ अझै गुणस्तर बनाउनु छ । सक्षम कलाकारलाई पोत्साहन गर्नु छ । नेपाली मौलिकपनलाई उजागर गर्नु छ र त्यो गरिरहेका पनि छौ, जस्तै मैले गरेको गीत देखन चम्पाले सुदुर पच्छिमको मौलिक पनलाई अझ सन्सारभरी त्यो संस्कृतीलाई मजबुत बनाउन सहयोग पुगेको छ जस्तो लाग्छ यसै गरेर सबैले आआफ्नो ठाउँबाट गर्नुपर्छ ।

० युबा पुस्ताले नेपाली गीत सङ्गीत नरुचाउनुको कारण ?
हे हे हे हे हे पछिल्लो समयमा झन रुचाउदै आउनु भएको छ । किनभने अहिले हामी पनि अन्तर्राष्ट्रिय बजारमा बजार बढाइरहेका छौं । उदाहरण हेर्नुहुन्छ भने अहिले बिबाह पार्टी, भोज, बनभोजमा हेर्नुस् नेपाली गीत सङ्गीतनै बजिरहेका छन्, त्यो अहिले हामिले गरेको उपलब्धि हो । अरु यस्ता उदाहरण धेरै छन् ।

० सुरुवाती बेलाको संघर्षलाई यतिबेला कसरी सम्झनु हुन्छ ?
सुरुवाती बेला त निकै गाह्रो थियो । म गाउँबाट आएको एउटा केटो । काठमाडौ जस्तो शहरमा देशका विभिन्न ठाउँबाट आफ्नो लक्ष्य बोकेर आएका सबैसङ्ग मुकाबिला गर्नु थियो । त्यसैमाथी अझ सङ्गीतमा । पढेर आफू योग्यता पुर्ण हुन आफ्नो ठाउँमा छदैछ त्यसलाई कसरी आफ्नो जिवनमा लागू गर्ने भन्ने कुराले पिरल्थ्यो । गर्दै जाँदा समयले धेरै कुरा सिकाउँदो रहेछ म पनि त्यसरी नै सिके । मैले सुरु सुरुमा प्रोजेट खोजे । सबैलाई आग्रह गरे । रातदिन नभनेर लागि परे । मेहेनत गरे त्यही कारणले आज म यसरी बोल्न सकेको छु ।

० सङ्गीतले प्राणी जगतमा कसरी प्रभाब पार्छ ?
सङ्गीत भनेको त यस्तो चिज हो साच्चै ब्रह्माण्ड कै एक सनौलो उपहार हो । हामिले जसरी बुझेका छौ त्यो भन्दा सङ्गीत धेरै फरक छ । हामिले जति सोचेका छौ त्यो भन्दा सङ्गीत धेरै फराकिलो छ । हामिले सोचेको बुझेको भन्दा अनन्त यो बिषयलाई हामिले नै थाहा नपाउने गरि प्रभाबित भएका छौ । मलाई लाग्छ यो कला क्षेत्र नै प्रकृतीको एक अद्भुत नमुना हो । जुन चिजमा हामी रमाइरहेका छौं तर आफुले अनुभुत कम गरेका छौं जस्तो लागेको छ मलाई । हो सङ्गीत कला भन्ने एक सन्सारकै एक विलक्षण प्रतिभा हो जस्तो लाग्छ ।

० अबको सङ्गीत कस्तो हुनुपर्छ ?
अबको सङ्गीत एक मनबाट अर्को मनमा सजिलै अनुभव गर्न सक्ने र समाजमा भएका हरेक नकारात्मक उर्जालाई सकारात्मकमा ढाल्न सक्ने अनि सङ्गीतलाई एक आध्यात्मिक तरिकाले सदुपयोग गर्दै सौभाद्रपुर्ण मनोरञ्जनात्मक हुन जरुरी छ । मानव जगतलाई धेरै उर्जाशिल बनाउन र सहज रूपमा जिबनयापन गर्न सक्ने सन्देश बोक्न सक्ने सङ्गीत हुनुपर्दछ ।


सम्बन्धित समाचार