Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पको प्रस्तावपछि हेजबुल्लाह–इजरायलबीच युद्धविराम सहमति

काठमाडौं । लेबनानमा सक्रिय सिया इस्लामिक राजनीतिक तथा सशस्त्र समूह हेजबुल्लाह र इजरायलबीच युद्धविराम सम्झौता भएको छ। अमेरिकाले अघि सारेको प्रस्ताव स्वीकार गर्दै दुवै पक्ष आक्रमण रोक्न सहमत भएका हुन्।

लेबनानस्थित अमेरिकी दूतावासका अनुसार हेजबुल्लाहले अमेरिकी मध्यस्थतामा प्रस्तुत गरिएको प्रस्ताव स्वीकार गरेको छ, जसअनुसार दुवै पक्षले एकअर्काविरुद्धको सैन्य आक्रमण रोक्ने सहमति गरेका छन्।

सम्झौताअनुसार इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रसहितका स्थानहरूमा आक्रमण बन्द गर्नेछ भने हेजबुल्लाहले इजरायलतर्फ कुनै पनि प्रकारको हमला नगर्ने प्रतिबद्धता जनाएको छ। युद्धविराम सम्पूर्ण लेबनान क्षेत्रमा लागू हुने बताइएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम सम्झौता भएको पुष्टि गर्दै हेजबुल्लाहले आक्रमण रोक्न असफल भएमा इजरायलले जवाफी कारबाही जारी राख्ने चेतावनी दिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहु र हेजबुल्लाहका प्रतिनिधिसँग छलफलपछि दुवै पक्षले गोलाबारी रोक्ने सहमति गरेको जानकारी दिएका छन्।

यद्यपि, युद्धविरामको दीर्घकालीन स्थायित्वबारे भने अन्तर्राष्ट्रिय स्तरमा अनिश्चितता कायम रहेको विश्लेषकहरूले बताएका छन्।