Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। फागुन २९ गते एभरेस्ट बैंकको इटहरी शाखामा काम गर्दै आएका निरज प्रधानको सरुवा भयो। त्यसपछि उनी पुगे उदयपुरको गाइघाट। पद अपरेसन इन्चार्ज। सरुवा भएको केही समयपछि अर्थात चैत २२ गते उनी समातिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध बैंकमा जम्मा भएको निक्षेप ठगी गरेको उजुरी परेको थियो। ग्राहकले बैंकमा उजुरी दिएपछि बैंकले प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको थियो। त्यही सूचनालाई आधार मान्दै प्रहरी निरज प्रधानसम्म पुगेको थियो।
निरजले ग्राहकको खाताबाट लाखौं रुपैयाँ पठाएको देखियो। अनि रकम ट्रान्सफर भएको खाताबाट रकम झिकिएको पनि। प्रहरीले खाता प्रयोग भएका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्यो। अनुसन्धानमा प्रधानको योजनामा नै आफन्त पर्ने व्यक्तिको खातामा रकम हालेको देखियो।
‘यसको मुख्य योजना नै निरज भएको देखिन्छ, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्याम राईले भने।
तर, उनी सरुवा भएपछि इटहरी शाखाबाट रकम ट्रान्सफर गर्ने क्रम भने रोकिएन। ३३ जना ग्राहकको रकम खाताबाट झिकिएको थियो। प्रहरीले सुरुमा प्रधान समातिएपछि अपराधको क्रम रोकिला भन्ने ठानेको थियो।
तर, त्यसमा अरुको पनि संलग्नता रहेको खुल्न थाल्यो। पुन प्रहरीले अपरेस चालु राख्यो। त्यसपछि इटहरी शाखाका प्रबन्धक विश्वराज शाक्य, ३७ वर्षीय दावा लामा, २७ वर्षीय मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल समातिए।
त्यस्तै, शंकर भुजेल र अजय खउजुलाई पनि प्रहरीले समात्यो। पक्राउ पर्नेमा बैंकका शाखा प्रमुखदेखि टेलरसम्मका रहेका छन्। करिब पाँच महिनादेखि उनीहरूले ठगी धन्दा गरिरहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले संगठित रुपमा ठगी गरेको देखिएको छ।
घटनाको मुख्य योजनाकार भने बैंक शाखाका अपरेसन प्रमुख निरज भएको प्रहरीको दाबी छ। उनीहरूले अहिलेसम्म ३३ जना ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ठगी गरेको देखिएको छ। उनीहरूले एउटा खाताबाट ७ लाख रुपैयाँसम्म झिकेको पाइएको छ।
‘कम्तीमा डेढ लाखदेखि ७ लाख रुपैयाँसम्म झिकेको देखिएको छ, डिएसपी राईले भने।
उनीहरूले इनएक्टिभ खातालाई समेत बैंकको सिस्टम दुरुपयोग गरेर एक्टिभ गरी रकम झिकेको खुलेको छ। त्यस्तै उनीहरुले यस्ता खातावालको चेक समेत बनाएर रकम झिकेका थिए।
‘अरुको खाताको चेक आफैं बनाएर नक्कली हस्ताक्षर गरेर रकम झिकेको समेत पाइएको छ, अनुसन्धानमा खटिएका एक अधिकृतले भने। प्रहरीले अब उनीहरु विरुद्ध कीर्ते मुद्दामा समेत अनुसन्धान गर्ने छ।
उनीहरू विरुद्ध जिल्ला अदालतबाट बैंकिङ कसुर र संगठित अपराधमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीहरुमाथि प्रहरीले संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ।
प्रहरी अनुसन्धानमा निरजले नै सबैभन्दा धेरै रकम झिकेको देखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा यसरी निस्किएको रकम जुवा खेलेर सकेको देखिएको छ।
‘उसले जुवामा पैसा हारेको भन्छ। हामी थप अनुसन्धान गरिरहेका छौं, एक प्रहरी अधिकृतले भने।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल