Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो एमबीबीएस अध्ययनको शुल्क

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८–७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३।६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा।भोजराज काफ्लेले जानकारी दिए । गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा।काफ्लेले बताए । उनले भने ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’
शैक्षिक सत्र २०७७–७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो । तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ । त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकोमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।