Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग प्रदेशगत रूपमा सामूहिक छलफल सुरु गर्ने भएका छन्। सांसदहरूबाट प्राप्त सुझाव, अनुभव र समसामयिक राजनीतिक विषयमा धारणा संकलन गर्ने उद्देश्यले छलफलको कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको भावी रणनीति, संसदीय गतिविधि तथा जनचासोका विषयमा छलफल गर्नेछन्। यसक्रममा बिहीबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ।

निर्धारित तालिकाअनुसार कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म छलफल हुनेछ भने मधेश प्रदेशका सांसदहरूसँग दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म बैठक बस्नेछ।

पार्टी स्रोतका अनुसार छलफलमा संसदको पछिल्लो राजनीतिक अवस्था, विपक्षी दलहरूको रणनीति, सरकारप्रतिको दृष्टिकोण तथा आगामी दिनमा रास्वपाले खेल्ने भूमिकाबारे विमर्श हुनेछ। साथै सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनअपेक्षा र विकाससम्बन्धी प्राथमिकताबारे पनि सभापतिलाई जानकारी गराउनेछन्।

संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरोध गरिरहेका बेला हुन लागेको यो छलफललाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। यस्तै आगामी बजेट सार्वजनिक हुनुअघि सांसदहरूका धारणा संकलन गरी पार्टीको साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्य पनि रहेको बताइएको छ।

रास्वपाले प्रदेशगत रूपमा सबै सांसदहरूसँग चरणबद्ध संवाद गर्दै संगठन, संसदीय भूमिका र जनसरोकारका मुद्दामा एकीकृत धारणा निर्माण गर्ने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार