Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफूहरुसँग ओलीले लड्न नसक्ने माधव नेपालको उद्घोष

काठमाडौं । आफ्नो कुर्सी धरापमा परेपछि रातारात संसद नै भंग गरेर निरंशुक शासन चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सकडमा आन्दोलनको आँधीबेहरी शुरु भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार काठमाडौमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर हिटलरको बाटोमा हिँडेको बताएका छन् ।

अध्यक्ष नेपालले ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् । केपी ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा नझुक्ने बताएका नेपालले ओलीविरुद्धको अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङमात्रै रहेको र पुरा फिल्म त बाँकी नै रहेको पनि बताए । शुक्रबारको प्रदर्शन र सभा हेर्दा आफुलाई जनआन्दोलनको झझल्को दिएको भन्दै उनले भने, आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिएको अनुभव भएको छ, नेता नेपालले भने, केपी ओलीले संविधान, पार्टी, लोकतन्त्र र देशको स्थायित्वविरुद्ध प्रहार गरेका छन् ।

अध्यक्ष नेपालले केपी ओलीलाई पार्टीले कारवाही गरिसकेको भन्दै उनी रहन्जेल पार्टी र सरकार कुनै पनि अघि बढ्न नसकेको जिकिर गरे । ओली प्रवृतिको चर्को आलोचना गरेका नेपालले घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने प्रवृतिको मान्छे रहेको टिप्पणी गरेका थिए । उनले सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको भन्दै ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको बताए ।