Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनपिएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सहभागी हुने भएका छन्।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको सहभागिता आइतबार राति सुनिश्चित भएको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि प्रतियोगिता सुरु हुँदैछ। यस वर्षको एनपिएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् भने सबै खेल काठमाडौंमै आयोजना गरिनेछ।

क्यानले यस संस्करणमा पुरस्कार राशि उल्लेख्य रूपमा बढाएको छ। प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ। त्यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष चार टोलीका लागि मात्रै कुल तीन करोड रुपैयाँ पुरस्कार छुट्याइएको छ।

तेस्रो संस्करणलाई अघिल्ला प्रतियोगिताभन्दा थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने उद्देश्यले विभिन्न सुधार गरिएको क्यानले जनाएको छ।

यस संस्करणमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर तथा बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले प्रतियोगिताप्रति थप उत्साह बढाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग, विदेशी खेलाडी अनुबन्ध प्रक्रियामा सहजता तथा कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिलाई यस संस्करणका प्रमुख विशेषताका रूपमा हेरिएको छ।

यी सुधारले एनपिएललाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक टी–२० प्रतियोगिताका रूपमा स्थापित गर्न सहयोग पुग्ने क्यानको अपेक्षा छ।