Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोषी पत्ता नलागेसम्म शव नउठ्ने

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन । शव बुझेपछि न्याय नपाइने आशंका भएकाले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको निष्कर्षमा हामी पुगेका छौं, उनले भने, दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा छौं । घटनाको राजनीतीकरण भएर दोषी उम्किन्छन् कि भन्ने आशंकाले शव नबुझेको उनको भनाइ थियो । अहिलेसम्म प्रहरी–प्रशासनसँग त शंका छैन, कोही पहुँच भएका मानिस दोषी भए पत्ता लाग्न मुस्किल हुन्छ कि भन्ने डर छ, त्यसैले शव बुझेका छैनौं, उनले भने ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट सोमबार मात्रै दिन सकिने जनाएको छ । अस्पतालका प्रमुख डा। वसन्तराज जोशीका अनुसार संवेदनशील केस भएको र अस्पतालमा बिरामीको चाप बढी भएकाले आइतबार रिपोर्ट तयार पार्न सकिएको छैन । बिहीबार मृत भेटिएकी भागरथीको शव पोस्टमार्टमका लागि शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी आइतबार घटनास्थल पुगेका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को प्राविधिक टोली यसअघि नै घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् ।

भागरथीका नजिकका साथी, आफन्तलगायतलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबारसम्म १० जनासँग सोधपुछ गरिएको र प्राविधिक टोलीले मोबाइल कलडिटेल बुझ्ने काम गरिरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । धेरै टोलीले अनुसन्धान गरिरहेका छन्, अपराधीलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं, उनले भने ।

भागरथीका हत्यामा संलग्नलाई कारबाही माग गर्दै आइतबार बैतडीका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायत स्थानीय सर्वसाधारणले दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीले जिल्ला सदरमुकामको शाहीलेक, गोठालापानी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयबाहिर पुगेर नाराबाजी र कोणसभा गरेका थिए । टाउको र पाखुरामा कालोपट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायको माग गरेका हुन् । घटनाका दोषी पक्राउ नपरुन्जेल प्रदर्शन जारी रहने जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् । यस्तै पाटन नगरपालिकामा पनि विद्यार्थी र स्थानीयले सडकमा प्रदर्शन गरेका थिए ।