Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रहेका इनम सापकोटाले विभिन्न न्यायाधीशसँग सम्पर्क गरी मुद्दामा प्रभाव पार्न खोजेपछि आफूहरूले सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन् ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै न्यायाधीश फुयालले सापकोटाले प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रहरी महानिरीक्षक, प्रधानसेनापति तथा विदेशी प्रतिनिधिहरूसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै न्यायिक प्रक्रियामा प्रभाव पार्न खोजेको बताए । उनका अनुसार सापकोटाले आफू प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको जस्तो गरी कुरा गर्ने र न्यायाधीशहरूलाई सहयोग गर्ने आश्वासन दिने गरेका थिए ।
फुयालले सापकोटाले आफूहरूलाई महाभियोगबाट जोगाउने आश्वासनसमेत दिएको बताए । सुरुमा स्वतन्त्र न्यायपालिका, सुशासन र विधिको शासनका विषयमा कुरा गर्ने सापकोटाले पछि विभिन्न मुद्दाबारे चासो राख्न थालेपछि शंका उत्पन्न भएको उनको भनाइ छ ।
उनका अनुसार सापकोटाले विवादास्पद व्यक्तिहरूसँग सम्बन्धित मुद्दामा चासो राख्नुका साथै न्यायाधीशहरूलाई सन्देश पठाएर मुद्दामा सहयोग गर्न आग्रह गर्ने गरेका थिए । फुयालले त्यस्ता विषयमा कुरा नगर्न र न्यायिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास नगर्न आफूले पटक–पटक सचेत गराएको बताए ।
सापकोटाले विभिन्न उच्च पदस्थ व्यक्तिको नाम लिएर आफूहरूको पहुँच रहेको बताउने गरेको र करिब छ–सात जना न्यायाधीशमाथि दबाब सिर्जना भएको महसुस भएपछि सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताए ।
फुयालका अनुसार आफूहरूले सापकोटाका गतिविधि र उपलब्ध विवरणबारे प्रधानमन्त्रीको सचिवालयको उच्च तहमा समेत जानकारी गराएका थिए । त्यसपछि केही न्यायाधीशले आपसमा छलफल गरी प्रधानसेनापतिसँग भेटेर घटनाबारे जानकारी गराउने निर्णय गरेका थिए । उक्त भेटमा सापकोटाले मुद्दाबारे कुरा गर्ने, उच्च पदस्थ व्यक्तिहरूको नाम लिने र आफूहरूमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको विवरण प्रस्तुत गरिएको उनको भनाइ छ ।
त्यसको केही दिनपछि सापकोटा पक्राउ परेको र अनुसन्धान सुरु भएको फुयालले बताए । आफूहरूले उजुरी गर्नुको उद्देश्य सापकोटाको वास्तविकता पत्ता लगाउनु र उनले विभिन्न निकायमा प्रभाव पार्न खोजेको विषयको अनुसन्धान गराउनु रहेको उनले स्पष्ट पारे ।
सापकोटा र न्यायाधीश फुयालबीच भएको भनिएको कुराकानीका सन्देश केही सञ्चारमाध्यममा सार्वजनिक भएपछि फुयाल विवादमा परेका छन् । सार्वजनिक भएका सन्देशमा प्रधानमन्त्रीले रोहित गुप्तालाई थुनामै राख्न भनेको भन्ने आशयको सन्देश सापकोटाले फुयाललाई पठाएको र जवाफमा गुप्तालाई धरौटीमा छाडिसकेको तथा होटल हिमालयमा साँझ ७ बजे भेट्ने विषय उल्लेख भएको बताइएको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै फुयालले प्रहरीसँग अनुसन्धानको मिसिलमा उक्त सामग्री भए–नभएकोबारे सोध्दा नभएको जवाफ पाएको बताए । अनुसन्धानको मिसिलमा नभएको भनिएको सामग्री कसरी सार्वजनिक भयो भन्ने विषयमा आफू आश्चर्यमा परेको उनको भनाइ छ ।
उनले आफू आर्थिक, नैतिक र आचरणगत रूपमा विचलित नभएको दाबी गर्दै न्यायिक सुशासन र मर्यादाको पक्षमा निरन्तर रहने बताए । साथै, घटनाका कारण सेवाग्राही, कानुन व्यवसायी, पत्रकार तथा आम नागरिकमा आफूलाई लिएर भ्रम र अन्योल सिर्जना भएको भन्दै दुःख व्यक्त गरे ।
फुयालले सापकोटासँग कुनै सेटिङ नगरेको र आफूले उपलब्ध गराएको सूचनाका आधारमा सुरु भएको अनुसन्धानमा आफूलाई पनि विवादमा तानिएको महसुस भएको बताए । उनले आफू वा अन्य न्यायाधीश दोषी देखिए कानुनअनुसारको कारबाही भोग्न तयार रहेको उल्लेख गर्दै घटनाको सूक्ष्म र विस्तृत अनुसन्धान गर्न आग्रह गरे ।
उनका अनुसार अनुसन्धानमा न्यायाधीशसँग सापकोटाले गरेका सम्पर्क मात्र नभई प्रहरी प्रशासन, अदालत तथा अन्य निकायमा प्रभाव पार्न खोजेको भनिएको विषयसमेत समेटिनुपर्छ । सापकोटाले विभिन्न उच्च पदस्थ व्यक्तिको नाम र पहुँच प्रयोग गरेर न्यायिक प्रक्रियामा प्रभाव पार्न खोजेको हो वा होइन भन्ने कुरा अनुसन्धानबाट स्पष्ट हुनुपर्ने फुयालको भनाइ छ ।
२०८३ कार्तिक १३
ताजा नेपाल
२०८३ कार्तिक १३
ताजा नेपाल
२०८३ कार्तिक १३
ताजा नेपाल