Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फ्लोर क्रस गर्ने कामरेहरुमाथि डण्डा

काठमाडौं । पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो। एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको जानकारी दिए। संसदमा पार्टीको ह्वीप उलंघन गर्दै विपक्षमा मत दिने राजनीतिक अपराध गरेकोले पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ, शाहले भने। एमालेका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए। एमालेका चार सांसदको मत पाएपछि शाही नेतृत्वको सरकार जोगिएको छ। केही समय अघि प्रदेशको मन्त्री पदबाट ज्वाला र बुढाले राजीनामा दिएका थिए ।