राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको दुर्घटना बीमा गरिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीको सामूहिक दुर्घटना बीमा गराउने भएको छ। कर्मचारीको सामूहिक दुर्घटना बीमालेख खरिदका लागि बैंकले आह्वान गरेको बोलपत्रमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी छनोट भएको छ।
बैंकका अनुसार बोलपत्र आह्वानपछि प्राप्त प्रस्तावहरूको विस्तृत मूल्याङ्कन गर्दा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही देखिएपछि कम्पनीलाई छनोट गरिएको हो।
कम्पनीले प्रस्ताव गरेको बीमा शुल्क प्राप्त प्रस्तावहरूको औसत रकमसँग सबैभन्दा नजिक हुनुका साथै बैंकले तयार गरेको लागत अनुमानभन्दा समेत कम रहेको आधारमा बोलपत्र स्वीकृतिका लागि छनोट गरिएको बैंकले जनाएको छ।
सामूहिक दुर्घटना बीमाका लागि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले ३९ लाख ६३ हजार २४० रुपैयाँ कुल बीमा शुल्क कबोल गरेको छ।
बैंकले कर्मचारीको सुरक्षा तथा कल्याणलाई ध्यानमा राख्दै सामूहिक दुर्घटना बीमा कार्यक्रम अघि बढाएको जनाएको छ।