Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमबीबीएस प्रवेश परीक्षामा कालिका मानवज्ञानका १८ विद्यार्थी पूर्ण छात्रवृत्तिमा छनोट

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका १८ विद्यार्थीले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस एकीकृत प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।

एमबीबीएस अध्ययनका लागि देशभरबाट ४ सय विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने व्यवस्थाअन्तर्गत एउटै सामुदायिक विद्यालयका १८ विद्यार्थी छनोट भएका हुन्। प्रवेश परीक्षामा विद्यालयका शिशिर मल्लले देशभरबाट दशौँ स्थान हासिल गर्दै उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्।

एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका मल्लले कक्षा ११ र १२ को अध्ययनसमेत कालिका मानवज्ञान माविबाटै विज्ञान संकायमा पूरा गरेका थिए।

चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका निश्चल जीसीले ३५ औँ, आयुष पाण्डेले ३९ औँ र सम्राट मरासिनीले ६९ औँ स्थान हासिल गरेका छन्।

त्यसैगरी अजयकुमार चौधरी ९१ औँ, आकाश मिश्र १५६ औँ, आदित्य भण्डारी १६१ औँ, ईशान ज्ञवाली १८६ औँ र गणेश पन्थी २०८ औँ स्थानमा रहेका छन्।

अन्य सफल विद्यार्थीमा बिपिशा अर्याल २२५ औँ, शिवनाथ यादव २७८ औँ, दीपक केसी ३०९ औँ, सम्पदा गौतम ३३८ औँ, बालकृष्ण कोहार ३५४ औँ, अर्जुन रिजाल ३५६ औँ, राजीव अग्रहरी ३७० औँ, इन्द्रबहादुर भुजेल मगर ३८१ औँ र अंकित तिवारी ३९२ औँ स्थानमा छन्।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले एकै विद्यालयका १८ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु गौरवपूर्ण उपलब्धि भएको बताए।

विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीका अनुसार योजनाबद्ध पठनपाठन, नियमित मूल्याङ्कन तथा अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ। विद्यालयले कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षालाई लक्षित गरी आवश्यक शैक्षिक आधार तयार गराउँदै आएको उनले बताए।

एकैपटक १८ विद्यार्थीले देशभरका प्रतिस्पर्धीमध्ये ४०० भित्र स्थान हासिल गर्नु विज्ञान संकाय र विद्यालय दुवैका लागि महत्वपूर्ण उपलब्धि भएको अधिकारीको भनाइ छ। अन्य क्लस्टरका विद्यार्थीको नतिजासमेत जोड्दा सफल हुने विद्यार्थीको सङ्ख्या ३५ भन्दा बढी पुग्ने उनले जानकारी दिए।

प्रधानाध्यापक ज्ञवालीले यो सफलताले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताए।

‘विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको हो,’ उनले भने।

सामुदायिक विद्यालयतर्फ नमुना विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माध्यमिक विद्यालयले चिकित्सा शिक्षा प्रवेश परीक्षामा प्राप्त गरेको यो उपलब्धिलाई आफ्नो शैक्षिक गुणस्तर र प्रतिस्पर्धात्मक क्षमताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।


सम्बन्धित समाचार