Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त जिम्मेवारी दिइएको हो। उपाध्यक्षको पदावधि पाँच वर्ष रहने व्यवस्था छ।

लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ। यससँगै आनी छोइङ डोल्माले लुम्बिनी विकास कोषको प्रशासनिक नेतृत्व सम्हाल्नेछिन्।

१३ वर्षको उमेरमै गुम्बा प्रवेश

सन् १९७० मा काठमाडौँमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध धर्मगुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा उनले बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी हुन्।

धार्मिक साधनासँगै गायन क्षेत्रमा सक्रिय उनले बौद्ध भजन र मन्त्रलाई आधुनिक संगीतमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी छन्। उनको गायनले बौद्ध परम्पराका मन्त्र तथा आध्यात्मिक संगीतलाई विश्वभरका श्रोतामाझ पुर्‍याउन योगदान गरेको छ।

धार्मिक साधना र संगीतलाई सँगसँगै अघि बढाएकी उनलाई अन्तर्राष्ट्रिय रूपमा ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका नामले पनि चिनिन्छ। अब लुम्बिनी विकास कोषको उपाध्यक्षका रूपमा उनले विश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको विकास तथा व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारी सम्हाल्नेछिन्।


सम्बन्धित समाचार