Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखविरुद्धको ज्यान मुद्दामा आज सुनुवाई

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको कर्तव्य ज्यान मुद्दाको सुनुवाई बुधबार हुने भएको छ। लामो समयदेखि पेशीमा नचढेको सो मुद्दा पेशीमा चढेको हो। संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाई हुन लागेको सर्वोच्च स्रोतले जनायो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। २०६२ वैसाख २१ गते माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको जाहेरी लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटा विरुद्ध उजुरी दिएकी थिइन्। सुरुमा त प्रहरीले जाहेरी समेत लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा अहिले पनि चलिरहेकै अवस्थामा छ।
२०६८ वैसाख २१ गते नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सापकोटालाई सूचना तथा सञ्चारमन्त्री बनाइएपछि सो मुद्दा पुनः सुरु भयो। जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन्। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते उनको जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दियो। अदालतको उक्त आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो। तर, प्रहरीले आफ्नो मातहतका कार्यालयहरुलाई सञ्चार सम्प्रेषण गरेको तर फेला नपरेको भन्दै तामेलीमा राख्दै आएको जिकीर पूर्णिमायाले सर्वोच्चमा गरेकी थिइन्।
गत वर्ष सापकोटा सभामुख बन्दैगर्दा पनि कर्तव्य ज्यान मुद्दाका आरोपी सभामुख बन्न नमिल्ने भन्दै चर्को आलोचना भएको थियो। तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड बलमा सापकोटा सभामुख भएका थिए।