Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज भाइटी बिहान ११:०७ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दिदीबहिनी र दाजुभाइबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्दै भाइटीका पर्व मनाइँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख आकर्षणका रूपमा रहेको छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै निधारमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिई उपहार तथा दक्षिणा प्रदान गरेर सम्मान प्रकट गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यस दिन दिदीबहिनीको पूजा तथा आशीर्वाद ग्रहण गर्दा सौभाग्य र ऐश्वर्य प्राप्त हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि आज बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत निर्धारण गरेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले राससलाई दिएको जानकारीअनुसार सर्वसाधारणले भने दिनभर टीका लगाउन सक्नेछन्। राज्य सञ्चालनमा रहेका व्यक्तिहरूका लागि भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

टीका लगाउँदा कुन दिशा फर्कने ?

समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्नेछ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ।

आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने भए पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्। उनका अनुसार शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय परम्परा छ।

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायतको पूजा आराधना गरिन्छ। साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा विभिन्न देवताको पनि विधिपूर्वक पूजा गर्ने चलन छ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरेर टीका लगाइदिने र मखमली, सयपत्री तथा गोदावरी फूलका माला पहिर्‍याउने गर्छन्। सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार सगुनका रूपमा दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई कपडा, उपहार तथा दक्षिणा दिएर माया र सम्मान प्रकट गर्ने सामाजिक तथा धार्मिक परम्परा छ।