Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्। करिब ६ सातासम्म चलेको सुनुवाइपछि भर्जिनियास्थित अदालतले मंगलबार भट्टलाई ‘फर्स्ट डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो।
अदालतले भट्टलाई ममताको शव अपमान गरेको र प्रमाण लुकाउने उद्देश्यले शव व्यवस्थापन गरेको कसुरमा समेत दोषी पाएको छ।
यसअघि अदालतमा भएको सुनुवाइका क्रममा नरेशले ममता घरकै बेडरुममा मृत अवस्थामा भेटिएको र आफूले उनको शव व्यवस्थापन मात्रै गरेको दाबी गरेका थिए। तर, मंगलबार अन्तिम बहसका क्रममा सरकारी वकिलले उनको भनाइलाई अस्वीकार गर्दै जुरीसमक्ष त्यसमा विश्वास नगर्न आग्रह गरेका थिए।
वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको आरोप लगाइन्।
उनका अनुसार ममताको शव भर्जिनियाको लुरायस्थित ल्यान्डफिलमा फालिएको थियो। शव फेला नपरेका कारण ममताको परिवारले अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्था बनेको सरकारी वकिलको भनाइ थियो।
सामीले पीडित परिवारका लागि ममता अझै पनि हराइरहेकी अवस्थामा रहेको उल्लेख गर्दै उनको शव फेला नपर्दा परिवारले भोग्नुपरेको पीडाबारे जुरीलाई अवगत गराएकी थिइन्।
प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। त्यस्तै, शव लुकाएको र अपमान गरेको कसुरमा प्रत्येकमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। उनको अन्तिम सजाय आगामी मार्च महिनामा निर्धारण गरिनेछ।
अदालतले फैसला सुनाएपछि ममताका साथीभाइ तथा स्थानीय नेपाली समुदायका सदस्यहरू अदालत भवनबाहिर भेला भएका थिए। उनीहरूले फैसलाप्रति खुसी व्यक्त गरेका थिए।
काममा नआएपछि खुलेको थियो घटना
ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी नियमित काममा उपस्थित नभएपछि उनका सहकर्मीहरूले खोजी र चासो व्यक्त गरेका थिए।
त्यसपछि प्रहरी ममता र नरेश बस्दै आएको घरमा पुगेको थियो। प्रहरीसँगको प्रारम्भिक कुराकानीमा नरेशले आफूले ममतालाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए। उनले ममता घर छाडेर जान चाहेको र सम्बन्धविच्छेदको कुरा गरेको दाबीसमेत गरेका थिए।
नरेशले अगस्ट ५ मा प्रहरीसमक्ष ममता हराएको औपचारिक उजुरी दिएका थिए। तर, परिवार तथा साथीभाइले सानी छोरीलाई घरमै छाडेर ममता कसैलाई जानकारी नदिई बेपत्ता भएको विश्वास गरेका थिएनन्।
घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो।
लामो समयसम्म चलेको अनुसन्धान र न्यायिक प्रक्रियापछि नरेश हत्या मुद्दामा दोषी ठहर भएका हुन्। यद्यपि, ममताको शव भने अहिलेसम्म फेला पर्न सकेको छैन।
२०८३ कार्तिक २६
ताजा नेपाल
२०८३ कार्तिक २६
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल