Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा सर्वस्वीकार्य भएकी हुन् त विद्या

तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओली यतिबेला पार्टीभित्रै दबाबमा परेका छन्। ११औँ महाधिवेशनबाट पुनः नेतृत्वमा आएका ओलीमाथि पाँच महिनामै पद छोड्नुपर्ने अवस्था सिर्जना भएको चर्चा एमाले वृत्तमा चुलिएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका प्रभावशाली नेताहरूले वैकल्पिक नेतृत्वको खोजी थालेपछि पार्टीभित्र शक्ति संघर्ष तीव्र बनेको छ।

पत्थरीको शल्यक्रियापछि गुण्डुस्थित निवासमा आराम गरिरहेका ओली अहिले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न सक्रिय देखिन्छन्। यही आन्तरिक तनावका बीच जेठ २ गतेका लागि बोलाइएको एमाले सचिवालय बैठक दुई दिन सारेर जेठ ४ गते सोमबारका लागि तय गरिएको छ।

पार्टी सचिव पद्मा अर्यालका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन हुनेछ। तर, एमालेभित्र बढ्दो शक्ति संघर्षका कारण बैठक त्यसमा मात्रै सीमित नहुने संकेत देखिएको छ।

ओलीले पार्टीभित्र आफ्नो विरुद्ध बनेको मोर्चालाई कमजोर बनाउन र नयाँ शक्ति सन्तुलन कायम गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने रणनीति अघि सारेको चर्चा छ।

गत साउन ६ गते ओलीकै पहलमा भण्डारीको नवीकरण भइसकेको एमाले सदस्यता रोकिएको थियो। त्यसबेला भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नदिने उद्देश्य देखिए पनि अहिले परिस्थिति फेरिएको ओलीनिकट नेताहरू बताउँछन्।

नेता प्रदीप ज्ञवालीका अनुसार राष्ट्रिय राजनीति र पार्टीभित्र नयाँ परिस्थिति विकसित भएकाले पुराना सम्बन्धहरूलाई पुनः व्यवस्थित गर्दै फराकिलो सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ।

पार्टीका प्रभावशाली नेताहरू आफ्नै विपक्षमा उभिएपछि ओलीले भण्डारीको समर्थन खोज्न थालेको एमालेभित्र चर्चा छ। प्रतिनिधिसभा निर्वाचन परिणामपछि ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेको छ।

एमालेका एक नेताका अनुसार ओलीले सके आफैँ नेतृत्व कायम राख्ने, नसके विद्यादेवी भण्डारीलाई अगाडि सार्ने रणनीति बनाउन सक्ने सम्भावना छ।

वैशाख २८ गते गुण्डुस्थित निवासमा ओली र भण्डारीबीच करिब तीन घण्टा लामो गोप्य छलफल भएको थियो। उक्त भेटपछि भण्डारी केही सकारात्मक देखिएको नेताहरूको दाबी छ।

ओलीनिकट नेताहरूका अनुसार अध्यक्ष ओलीले भण्डारीलाई पार्टीको भविष्यको जिम्मेवारी दिने सोच बनाएको हुनसक्छ। त्यसको संकेत जेठ ३ गते आयोजित मदन–आश्रित स्मृति सभामा भण्डारीलाई प्रमुख अतिथि बनाइनुलाई पनि मानिएको छ।

एमालेले मदन–आश्रितको ३३औँ स्मृति दिवस कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीचको छलफलपछि गरेको एक नेताले बताएका छन्।

यसअघि पार्टीभित्रको संकट समाधानका लागि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकताको तयारी गरेको चर्चा थियो। तर, भण्डारीसँग नयाँ समझदारी बनेमा ओलीको प्राथमिकता फेरिन सक्ने विश्लेषण एमालेभित्र भइरहेको छ।

भण्डारीनिकट नेताहरू भने ओलीको यो कदमलाई रणनीतिक बाध्यता मानिरहेका छन्। उनीहरूका अनुसार पार्टीभित्र कमजोर बन्दै गएपछि ओलीले विद्यादेवी भण्डारीको समर्थन खोजेका हुन्।

भण्डारी पक्षका नेता विनोद ढकालले पार्टीभित्र केही नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको बताए। उनका अनुसार विष्णु पौडेल र शंकर पोखरेलभन्दा भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न ओलीलाई सहज लाग्न सक्ने अनुमान गरिएको छ।

एमाले नेता सुरेन्द्र पाण्डेले पनि आगामी सचिवालय बैठकले धेरै विषयको छिनोफानो गर्ने बताएका छन्। उनले भण्डारीको सदस्यता नवीकरण गरिए मात्रै पार्टीभित्रको अवस्था थप स्पष्ट हुने टिप्पणी गरे।

प्रदीप ज्ञवालीले पनि सम्बन्ध सहज बनाउने प्रयास भइरहेको स्वीकार गरे। तर, यसअघि भएका निर्णय पुनरावलोकन हुने वा भण्डारीलाई नयाँ जिम्मेवारी दिने विषयमा संस्थागत छलफल भइनसकेको उनको भनाइ छ।

भण्डारीको पुनरागमन र सदस्यता नवीकरणको विषय अहिले एमालेभित्र मुख्य राजनीतिक मुद्दा बनेको छ। पार्टी सचिव भानुभक्त ढकालले पनि यसबारे आन्तरिक गृहकार्य भइरहेको संकेत दिएका छन्।

अब सोमबार बस्ने सचिवालय बैठकले एमालेको नेतृत्व, शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा कता मोडिन्छ भन्ने विषयमा महत्वपूर्ण संकेत दिने देखिएको छ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल