Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले अध्यक्ष ओली देशभक्त नेता : चिनियाँ नेता जियाजुन

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई  आफूले एक देशभक्त नेताको रूपमा पाएको बताउनु भएको छ ।

चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसँगको भेटमा नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रूपमा पाएको बताउनु भएको हो । आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीब्र चाहना पाएको उल्लेख गर्दै जियाजुनले नेपालको विकासमा सहयोगको लागि चीन तत्पर रहेको बताउनुभयो ।

नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पाटीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नुपर्ने बताउनुभयो ।

आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरिबबीच असन्तुलनलाई हटाउन जरूरी रहेको उल्लेख गर्दै जियाजुनले यसको लागि छोङछिङको सफल अनुभव रहेको बताउनुभयो । उहाँले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासको लागि महत्वपूर्ण हुने हुँदा नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले दक्षिण एसियाको गरिबी निवारणको लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिको लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । धान उत्पादनको लागि छोङछिङ प्रसिद्ध रहेको बताउदै उहाँले नेपालको कृर्षिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने बताउनुभयो ।

उहाँले  नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनुभयो । नेपाल एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– चीन बिरोधी गतिविधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा जनवादी गणतन्त्र चीन भ्रमणमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेतृत्व गर्नुभएको टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू  ज्वाला कुमारी  शाह, राम राना, टुका हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मञ्जु गुरुङ, अजय कुमार गुप्ता,  मानवीर राई लगायत हुनुहुन्छ।

 


सम्बन्धित समाचार