Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने बताएका छन् । उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका नेता तथा कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन बनाएर राख्ने परिपाटी अन्त्य गरिने बताए ।
‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन,’ उनले भने ।
उनले कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रका विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका नेताहरूलाई पनि समेटेर अघि बढ्ने बताए । काम गर्ने इच्छा, क्षमता र योग्यता भएका नेता तथा कार्यकर्तालाई पार्टी विधानअनुसार विभिन्न जिम्मेवारी प्रदान गरिने उनको भनाइ छ ।
थापाले पार्टीभित्र पदका आधारमा नेता तथा कार्यकर्तालाई ठूलो–सानो ठान्ने, आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परामा समेत परिवर्तन आवश्यक रहेको बताए । पार्टीलाई प्रभावकारी बनाउन सबैको योगदान र क्षमताको सम्मान गर्नुपर्नेमा उनले जोड दिए ।
पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाबारे अनावश्यक चिन्ता गर्नुभन्दा अहिले जनतामाझ पुगेर उनीहरूको विश्वास जित्नुपर्ने सभापति थापाले बताए । नयाँ समितिले नयाँ सोच र प्रतिबद्धतासहित जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
उनले मंसिर महिनाभित्रै कांग्रेसबाट टाढिएका परिवार तथा मतदाताको घरदैलोसम्म पुग्ने अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । विगतमा कांग्रेसमा रहेका तर अहिले पार्टीसँग जोडिन छाडेका परिवारलाई भेटेर उनीहरूको कुरा सुन्नुपर्ने उनले बताए ।
‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ,’ उनले भने ।
कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले अभियान सञ्चालन गर्नुपर्ने थापाको भनाइ छ । विगतमा पार्टीसँग जोडिएका मतदाता र समर्थकलाई पुनः विश्वासमा लिन सके कांग्रेसलाई थप बलियो बनाउन सकिने उनले बताए ।
सभापति थापाले पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य, मान्यता र आदर्शबाट विचलित नभई वर्तमान समयका चुनौती तथा युवापुस्ताका प्रश्न सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक प्रतिस्पर्धाको चरण सकिएकाले अब पार्टी एकढिक्का भएर सङ्गठन सुदृढीकरण र जनताको विश्वास जित्ने अभियानमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । पार्टीभित्र सबैलाई समेट्ने र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिने नयाँ कार्यशैलीले कांग्रेसलाई थप सशक्त बनाउने उनले बताए ।
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल