Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र विकाससँग जोड्न निर्देशन दिएका छन्।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन र आवश्यक निर्देशन लिन रास्वपाका सांसद तथा नेताहरूले शुक्रबार प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने गरी भ्रमणलाई उपलब्धिमूलक बनाउन सुझाव दिएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले चीनबाट प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन र सहकार्य गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्रै केन्द्रित नभई चीनको अनुभवबाट नेपालले विकास र समृद्धिका लागि उपयोगी उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिएका थिए।
भ्रमणका क्रममा दुई देशबीचको सीमा सम्बन्धी विषयमा भने छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे। यस विषयमा नेपालको आधिकारिक धारणा यथावत् रहने उनको भनाइ छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित विभिन्न सांसद सहभागी हुनेछन्।
प्रतिनिधिमण्डलमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन्।
भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनका सम्भावनाबारे अध्ययन तथा छलफल हुने अपेक्षा गरिएको छ।
२०८३ कार्तिक २८
ताजा नेपाल
२०८३ कार्तिक २८
ताजा नेपाल
२०८३ कार्तिक २८
ताजा नेपाल