Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिचुवानदेखि बेइजिङसम्म रास्वपा टोलीको ११ दिने चीन भ्रमण, यस्तो छ कार्यतालिका

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको ११ दिने भ्रमण कार्यतालिका तय भएको छ। कात्तिक २९ गतेदेखि सुरु हुने भ्रमण सिचुवान प्रान्तबाट सुरु भएर राजधानी बेइजिङमा पुगेर सम्पन्न हुनेछ।

भ्रमणका क्रममा रास्वपा टोलीले चीनको प्रविधि, औद्योगिक विकास, कृषि, विपद् व्यवस्थापन, स्थानीय सरकार सञ्चालन र आर्थिक सहकार्यका विभिन्न क्षेत्रको अध्ययन गर्नेछ।

टोली नोभेम्बर १५ मा सिचुवान प्रान्तको चेङ्दु पुग्नेछ। नोभेम्बर १६ मा हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्कको अवलोकन गर्ने कार्यक्रम छ। सोही दिन सीपीसीको पार्टी स्कुलका नेताहरूसँग विचार आदानप्रदान हुनेछ।

नोभेम्बर १७ मा टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेन्चुआन क्षेत्रको पुनर्निर्माणबारे अध्ययन गर्नेछ। नोभेम्बर १८ मा जायन्ट पाण्डा ब्रीडिङ केन्द्रको अवलोकनसँगै सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तर्क्रियामा सहभागी हुनेछ।

नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्त जानेछ। त्यहाँ नोभेम्बर २० मा रोबोटिक्स प्रविधि क्षेत्र र औद्योगिक पार्कको भ्रमण गर्नेछ। नोभेम्बर २१ मा तीव्र गतिको रेलमार्फत यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्रको अवलोकन गर्ने तथा ग्रामीण सरकार सञ्चालन र स्थानीय तहमा पार्टी निर्माणसम्बन्धी अभ्यासबारे जानकारी लिने कार्यक्रम छ।

नोभेम्बर २२ मा जेजियाङ विश्वविद्यालयमा थिंक ट्यांक विकासबारे अध्ययन हुनेछ। नोभेम्बर २३ मा जिन्ह्वामा आयोजना हुने नेपाल–चीन इन्टरप्राइजेज म्याचमेकिङ सम्मेलनमा टोली सहभागी हुनेछ। उक्त कार्यक्रममा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले धारणा राख्नेछन्।

नोभेम्बर २४ मा टोली बेइजिङ पुग्नेछ। त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटवार्ता, विज्ञहरूसँग छलफल तथा पार्टीको ऐतिहासिक संग्रहालय अवलोकन गर्ने कार्यक्रम तय भएको छ। भ्रमण सम्पन्न गरी टोली नोभेम्बर २६ मा नेपाल फर्कनेछ।

महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित १९ सांसद सहभागी हुनेछन्।

यसअघि टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी भ्रमणलाई नेपालको राष्ट्रिय हित, प्रविधि, व्यापार, आर्थिक विकास र दुई देशबीचको सम्बन्ध सुदृढीकरणमा केन्द्रित गर्न निर्देशन लिएको थियो।