Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनताले धोका मात्रै पाए

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ ? भन्ने पनि थाहा छैन् । यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरूले ठूलो पाप गरे । केही काम गरेनन् ।

डा. दिक्षितले आफूहरू जनताले नेकपा नेताहरूको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भएपनि प्रचण्डको ग्रुपले चाहीँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे । उनले भने, नेकपाले सरकार गठन गरेको दिनदेखि, त्यो भन्दा अलिक अगाडि दिनदेखि नै यीनीहरूबीच यत्रो झैझगडा भएको रहेछ, मुलुकको त वास्ता रहेनछ उनीहरूलाई, उनीहरू त कसले प्रधानमन्त्री पड्काउने ? कहिले पड्काउने ? अढाई वर्ष पड्काउने कि अहिले पड्काउने ? अथवा गिद्धजस्तो भएर कुन बेला ओली मर्ला भनेर बसेका रहेछन् ।

अब अनफर्चुनेट्ली, ओली मरिदिएनन्, ओलीजी त मरिदिनुभएन, उहाँ त झन अहिले तन्दुरुस्त, हिजो देखिहाल्नुभयो उहाँ तन्दुरुस्त हुनुहुन्छ, त्यसैले यीनले धोका खाए, हामीले त धोका खायौं, खायौं, तर विचरा प्रचण्ड ग्रुपले पनि धोका खाएकै हुन्, किनभने हामीले धोका खायौं, यीनको बेईमानीबाट, प्रचण्डले धोका खाए ओली नमरि दिएकोले । उनले अहिलेपनि नेपाल कोरोनाको जोखिममा रहेको अवस्था सुनाए । तर, नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम नेताहरूले गरिराखेको उनको गुनासो छ । उनले भने, आफू प्रधानमन्त्री बन्नको लागि जनता मार्ने ? दिनहुँ आन्दोलन भएका छन्, खोई मास्क ? नेताहरू त स्वार्थी र लोभी रहेछन् ।

उनले ओली र प्रचण्ड भित्रभित्र काटाकाटको अवस्था रहेको तर बाहिर देखाउँदा मिलेको जस्तो गरेर नाटक गरेको पनि आरोप लगाए । त्यस्तै, ओली र माधव नेपालबीच पनि काटाकाटकै अवस्था रहेको पनि उनले सुनाए । दिक्षितले लोकतन्त्रको खम्बा भनेको न्यायापालिका भएको भन्दै यसलाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुने धारणा राखे । तर, अहिले न्यायालाई पनि कमजोर तुल्याउने काम भैरहेको भन्दै उनले दुःख व्यक्त गरे ।

उनले नेकपाका विभाजित शक्तिहरू दुवैको आ–आफ्नो दाउ र रणनीति रहेको पनि सुनाए । प्रचण्ड र माधव नेपाल संसद पूनःस्थापनाको पक्षमा उभिएको र ओली चुनावको अन्तिम तयारीमा जुटिसकेको पनि उनले सुनाए । उनले संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहसको क्रममा रहेकोले यो विषयमा बाहिर जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे ।