Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दलको झोला बोक्ने कर्मचारीमाथि कारबाही

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको पक्षमा लाग्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कर्मचारीको जिम्मेवारी राजनीतिक दलको झोला बोक्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका हुन्।

सरकारमा आएदेखि नै कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नभई जनताको सेवामा समर्पित हुन स्पष्ट पार्दै आएको उनको भनाइ छ।

‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,’ उनले लेखेका छन्।

पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कडा कारबाही हुने उनले चेतावनी दिएका छन्।

‘आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,’ उनले लेखेका छन्।

सरकारलाई नेताको चाकडी गर्नेभन्दा जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार कर्मचारी आवश्यक रहेको पनि गृहमन्त्री गुरुङले बताएका छन्।