Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लागेका श्रीमान् पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा पुगेर ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट् यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेका थिए। सोही राति करिब १ः५० बजे उनले श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरी फरार भएका थिए।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनास्थलमा रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट देखिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
घाइते बालक सम्राट्को दाहिने तिघ्रामा काटिएको चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ। घटनापछि फरार उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८३ कार्तिक ९
ताजा नेपाल
२०८३ कार्तिक ६
ताजा नेपाल
२०८३ कार्तिक ६
ताजा नेपाल