Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पटक–पटक हारे पनि उही प्रतिस्पर्धी कार्यकर्ताले नयाँ अनुहार कहिले हेर्ने

दलहरूमा पुस्तान्तरणको बहस चर्को गरी चल्दै आएको छ। तापनि, हाम्रो राजनीतिमा धेरै पुराना नेता नै नेतृत्व तहमा छन्। चुनाव जिते पनि हारे पनि उही–उही उम्मेदवारबीच प्रतिस्पर्धा हुनुले पनि नेतृत्व पुस्तान्तरण हुन नसकेको देखाउँछ। चुनावी मैदानमा पटक–पटक भिडेका उही–उही नेताहरूलाई यसरी प्रस्तुत गरिएको छ।

कृष्णप्रसाद सिटौला कांग्रेस – राजेन्द्रप्रसाद लिङदेन राप्रपा चौथोपटक

झापा ३ मा दुई शीर्ष नेताबीच चौथो पटक प्रतिष्ठाको लडाइ हुँदैछ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आमनिर्वाचनमा फेरि एक पटक आमनेसामने उभिएका छन्।

सिटौला सातौं पटक र लिङदेन चौथो पटक चुनावी मैदानमा होमिएका हुन्। २०४८ सालदेखि निरन्तर कांग्रेस नेता सिटौला यस क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्। २०५६ र २०७० सालमा गरी दुईपटक निर्वाचित भएका सिटौला २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चारपटक पराजित भए। त्यस्तै २०५६ सालमा पहिलो पटक यस क्षेत्रबाट निर्वाचन लडेका लिङदेन २०६४ सालको निर्वाचनमा उठेनन्। २०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आएका लिङदेन २०७४ सालको निर्वाचनमा पहिलो पटक निर्वाचित भए। त्यसअवधिमा सिटौला र लिङदेन २०५६, २०७० र २०७४ सालमा आमनेसामने देखिए।

प्रदीप ज्ञवाली एमाले– चन्द्र भण्डारी कांग्रेस चौथोपटक

मतदाताको आलोपालो रोजाइमा पर्दै आएका गुल्मी १ का नेताद्वय नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चौथोपटक चुनावी प्रतिस्पर्धा हुँदैछ। दुई नेता विगत १५ वर्षदेखि चिरपरिचित प्रतिस्पर्धी हुन्।

राष्ट्रिय राजनीतिमा स्वच्छ छवि बनाएका दुवै नेता नागरिकका प्रिय मानिए पनि मतदाताले एकलाई रोज्नुपर्ने बाध्यता छ। ज्ञवाली एमालेको हाल उपमहासचिव छन् भने भण्डारी कांग्रेसको केन्द्रीय सदस्य छन्। ०५६ मा भएको संसदीय निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नम्बर २ बाट ज्ञवाली र कांग्रेसका चन्द्र केसीबीच भएको प्रतिस्पर्धामा ज्ञवालीले चुनाव जितेका थिए। त्यसबेला ज्ञवाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए।

राजनीतिमा नयाँ अनुहार आउनुपर्छ भन्ने चर्चा र बहस चलेको धेरै समय भयो। नीति निर्माण गर्ने र सरकार बनाउने थलोका रूपमा रहेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उम्मेदवार योग्य र परिपक्क हुनुपर्छ। तर, लामो समयदेखि नेपाली राजनीतिमा पुरानै अनुहारले नेतृत्व समालेका छन्, प्रतिनिधिसभामा पनि चुनिएर पुग्ने तिनै नेता हुन्। पटक–पटक हुने निर्वाचनमा हारे पनि, जिते पनि उम्मेदवार बन्छन्। यसले नयाँ पुस्ताले मौका नपाउने क्रम लम्बिँदैछ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि ३ देखि ४ पटकसम्म प्रतिस्पर्धा गरेका नेता उम्मेदवार बनेका छन्। पुरानै अनुहार सदाबहार योजना लिएर नागरिकको घरदौलोमा पुगेका छन्। ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनदेखि एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच निरन्तर प्रतिस्पर्धा हुँदै आएको हो। ०६४ को निर्वाचनमा ज्ञवालीले चुनाव जिते। ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा फेरि उनीहरूबीच नै भएको प्रतिस्पर्धामा ज्ञवालीले हार व्यहोरे। ०७४ मा फेरि ज्ञवालीले भण्डारीलाई पछि पार्दै विजय हात पारे। यसपटक उनीहरूबीच चौथो प्रतिस्पर्धा हो। फरक–फरक राजनीतिमा भए पनि दुवै नेता मतदाताको बीचमा पुग्दा कहिल्यै गालीगलौज गर्दैनन्। उनीहरूबीच मित्रवत प्रतिस्पर्धा हुने गरेको छ।

डिगबहादुर लिम्बू कांग्रेस– घनश्याम खतिवडा एमाले चौथोपटक राजनीतिक मैदानका पुराना प्रतिस्पर्धी हुन् डिगबहादुर लिम्बू र घनश्याम खतिवडा। उनीहरू मोरङ लेटाङका बासिन्दा हुन्। अबको निर्वाचनका लागि मोरङ १ मा लिम्बू नेपाली कांग्रेस र खतिवडा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका प्रतिस्पर्धी छन्। लिम्बू कांग्रेसका जिल्ला सभापति हुन्। खतिवडा एमाले प्रदेश १ का सदस्य हुन्।

चुनावी दौरानमा उनीहरूबीच ३० वर्षदेखि प्रतिस्पर्धा चलिरहेको छ। प्रतिस्पर्धामा २ पटक खतिवडा र १ पटक लिम्बूले बाजी मारिसकेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उनीहरूबीच चौथो पटक प्रतिस्पर्धा हुँदैछ। पहिलो पटक २०४९ सालको स्थानीय निकाय निर्वाचनमा आमनेसामने भए। त्यसपटक प्रतिस्पर्धामा बाजी मार्दै खतिवडा तत्कालीन लेटाङ गाविसको अध्यक्ष निर्वाचित भए। दोस्रो संविधानसभामा खतिवडा लिम्बूसँग १ हजार ५ सय मतान्तरले पराजित बनेका थिए। संविधानसभा सदस्य बन्ने अवसरबाट बञ्चित भएको बदला खतिवडाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा लिम्बूलाई पराजित गरेर लिए। २०७४ मा खतिवडाले लिम्बूलाई ६ हजार ८८ मतान्तरले पराजित गरेका हुन्।

अधिकांश राजनीतिक दलका प्रमुख नेता पटक–पटक उम्मेदवार बनेका छन्।
झापा ३ मा कृष्णप्रसाद सिटौला कांग्रेसबाट र राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन यसपटक पनि उम्मेदवार बनेका छन्। उनीहरूको यो चौथो पटकको चुनावी भेट हो।
सुनिल थापा कांग्रेस– राजेन्द्र राई एमाले तेस्रोपटक

प्रतिनिधिसभाको एक सिटका लागि धनकुटाबाट ९ उम्मेदवार प्रतिस्पर्धामा छन्। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा चुनावी मैदानमा उत्रँदा नेकपा एमालेले केन्द्रीय सदस्य तथा निवर्तमान संसद् राजेन्द्र राईलाई उठाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमारबहादुर थापा, संघीय
लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती, एकीकृत शक्ति नेपालका रमेश राई र स्वतन्त्रमा माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी चुनावी मैदानमा छन्।

गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेस नेता थापा र नेकपा एमालेबाट उम्मेदवार बनेका राईबीच यो तेस्रो पटकको भिडन्त हो। अघिल्लो दुई पटकमा दुवै जनाले एकरएक पटक बाजी मारे। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका सुनिलबहादुर थापाले जितेका थिए। त्यो बेला धनकुटामा दुइटा निर्वाचन क्षेत्र थियो। धनकुटा २ मा निकटतम प्रतिस्पर्धी राजेन्द्रकुमार राईलाई पराजित गर्दै थापा विजयी भएका थिए।

त्यस्तै २०७४ सालको निर्वाचनमा भने राजेन्द्र विजयी बने। त्यसबेला धनकुटामा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र थियो। उक्त निर्वाचनमा राजेन्द्रले सुनिललाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गरेका थिए।

शेरधन राई एमाले सुदन किराती माओवादी तेस्रोपटक

भोजपुरबाट शेरधन राई र सुदन किराती तेस्रो पटक चुनावी मैदानमा उत्रँदैछन्। प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको भोजपुरमा यो पटक नेकपा एमालेबाट राई र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका किरातीको उम्मेदवारी परेको हो।

यसअघि २०६४ सालमा संघको निर्वाचनमा माओवादीका किरातीले तात्कालीन भोजपुर २ मा राईलाई पराजित गरेका थिए। त्यस्तै एमालेका राईले पनि २०७० सालमा २ मै किरातीलाई पराजित गरे। पछि २०७४ मा वामगठबन्धनका कारण भने यी दुईबीचको भिडन्त टर्‍यो। नेकपा एमाले र नेकपा माओवादीबीच गठबन्धन भएपछि मुख्यमन्त्रीको आश्वासनसहित राईलाई प्रदेशमा र किराती प्रतिनिधिसभामा प्रतिस्पर्धा गरे।

२०७४ मा प्रतिनिधिसभामा माओवादी केन्द्रबाट किराती चुनाव लडिरहँदा प्रदेशसभा १ मा एमालेबाट वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ मा राईले चुनाव लडे। निर्वाचित पनि भए। राई र किराती बीचको तेस्रो चुनावी प्रतिस्पर्धा हुँदा मुख्यमन्त्री राजेन्द्र भने सत्तागठबन्धनबाट प्रदेशसभा क्षेत्र नं १ का लागि चुनाव लड्दैछन्।

राजेन्द्रप्रसाद गौतम एमाले– दीपक खड्का कांग्रेस तेस्रोपटक

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा एमाले र कांग्रेसका उम्मेदवारबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ। एमालेका राजेन्द्रप्रसाद गौतम र कांग्रेसका दीपक खड्का यसपटक पनि आमनेसामने हुँदैछन्। २०७४ को निर्वाचनमा वामगठबन्धनको तर्फबाट गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएर खड्कालाई हराएका थिए। खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए।

२०७० को संविधानसभाको निर्वाचनमा पनि दुवैबीच प्रतिस्पर्धा भएको थियो। क्षेत्र नं.२ मा गौतमलाई खड्काले हराएका थिए। निर्वाचित खड्का खानेपानी तथा सरफाइ राज्यमन्त्रीसमेत भएका थिए।

विजयकुमार गच्छदार कांग्रेस – भगवती चौधरी एमाले तेस्रोपटक

अबको निर्वाचनमा सुनसरी ३ मा कांग्रेस नेता विजयकुमार गच्छदार सातौंपटक चुनाब जित्ने दौडमा जुटेका छन्। गच्छदारसँग एमाले उम्मेदवार भगवती चौधरी तेस्रो पटक प्रतिस्पर्धा गर्दैछिन्। गच्छदार कांग्रेस नेतृत्वको गठबन्धनबाट र भगवती एमाले–जसपा गठबन्धनबाट उम्मेदवार भएर प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन्।

गच्छदारले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा चौधरीसँगै कम मतान्तरले जितेका थिए। त्यसैले चौधरी जसरी पनि यसपटक चुनाव आफैंले जित्ने दाबीका साथ मैदामा उत्रिएकी छन् भने गच्छदार विगतमा सहजै जितेकाले यसपटक गठबन्धनबाट जित्ने पक्का रहेको दाबी गर्छन्।

सुरेन्द्र चौधरी कांग्रेस – राजकुमार यादव गुप्ता,नेपाल सुशासन पार्टी तेस्रोपटक

पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा दुई उम्मेदवार तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। पर्सा ३ मा सत्तागठबन्धनबाट कांग्रेसका सुरेन्द्र चौधरी र नेपाल सुशासन पार्टीका राजकुमार यादव गुप्ता एक अर्काविरुद्ध लगातार तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन्।

चौधरी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पर्साको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उक्त चुनावमा उनका निकटतम प्रतिस्पर्धी तत्कालीन नेपाल संघीय समाजवादी पार्टीबाट यादव नै थिए। त्यसबेला संविधानसभा सदस्यमा निर्वाचित चौधरीले १३ हजार मत पाउदा उनका निकटतम प्रतिस्पर्धी यादवले भने ७ हजार १ सय २३ मत मात्रै पाएका थिए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पर्सामा ५ वटा निर्वाचन क्षेत्र कायम थियो। तर, २०७४ को निर्वाचन यता भने पर्सामा प्रतिनिधिसभाका ४ वटा मात्र निर्वाचन क्षेत्र कायम छ। त्यसपछि २०७४ को निर्वाचनमा भने यी दुवै नेता पर्सा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एक अर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका थिए।

२०७४ को निर्वाचनमा पर्सा ३ को प्रतिनिधिसभा सदस्यमा चौधरी कांग्रेसबाटै उम्मेदवार हँुदा यादव भने तत्कालीन नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार थिए। उक्त निर्वाचनमा भने तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियारले यी दुवैलाई पाखा लगाउँदै बाजी मारे। उक्त निर्वाचनमा चौधरी दोस्रो र यादव चौथो नम्बरमा रहे।

विगत दुई निर्वाचनमा लगातार एक अर्काविरुद्ध चुनावी मैदानमा भिडिसकेका चौधरी र यादव आसन्न मंसिर ४ को निर्वाचनमा फेरि एक अर्काकै प्रतिस्पर्धीका रूपमा उत्रिएका छन्। चौधरीको पार्टी कांग्रेस नै छ भने यादवले भने दल परिवर्तन गरेर नेपाल सुशासन पार्टीलाई रोजेका छन्।

राजु थापा कांग्रेस – नारायणप्रसाद मरासिनी एमाले तेस्रोपटक

स्याङ्जाको क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा र नेकपा एमालेका नारायणप्रसाद मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। प्रतिनिधिसभा निर्वाचनमा थापा र मरासिनीबीच यो लगातारको तेस्रो पटकको चुनावी भिडन्त हो। उनीहरू २०७० सालमा भएको निर्वाचनदेखि २०७४ को र अहिले पनि आमने सामने छन्।

दोस्रोपटक सम्पन्न २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा विजयी भएका थिए। त्यसपछिको २०७४ सालको संघीय निर्वाचनमा गठबन्धनसहित एमालेका मरासिनी निर्वाचित भए। अब हुने निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा भनेको कांग्रेस र एमालेबीच अर्थात् थापा र मरासिनीबीच नै हो।

दामोदर भण्डारी एमाले – नरेन्द्रबहादुर कुँवर विजयसुन्दर माओवादी तेस्रोपटक

सुदूरपश्चिमको बैतडी जिल्लामा नेकपा एमालेका दामोदर भण्डारी र नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ९विजयसुन्दर० बीच तेस्रोपटक प्रतिस्पर्धा हुँदैछ। संविधानसभाका दुई निर्वाचन २०६४ र २०७० मा बैतडीमा दुइटा निर्वाचन क्षेत्र थिए। २०६४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट यी दुवै नेतासँगै चुनाव लडेका हुन्। त्यसबेला नरेन्द्रबहादुर कुँवरले जितेका थिए। २०७० सालको अर्को संविधानसभा निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाट यी दुवै नेताकाबीच प्रतिस्पर्धा भयो। त्यसबेला भने एमालेका भण्डारी विजयी भए।

२०७२ सालमा संविधान जारी भएपछि बैतडी एक निर्वाचन क्षेत्र भयो। दुई पटकको निर्वाचनमा प्रतिस्पर्धी भएर लडेका यी दुई नेता २०७४ सालको निर्वाचमा भने नेकपा बनेपछि एक अर्काका सारथि बने। टिकट एमालेका दामोदर भण्डारीले पाए भने नरेन्द्रबहादुर कुँवर उनका लागि भोट माग्न जनतामा गए। तर, नेकपा विभाजन भएपछि, यसपालि यी दुवै नेता बैतडीबाट प्रतिस्पर्धी भएका छन्। नरेन्द्रबहादुर कुँवर सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका छन् भने भण्डारी नेकपा एमालेबाट एकल रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्।
शिवराज भट्ट र धनगढी, किशोर बुढाथोकीरविराटनगर, हरिबहादुर लम्जेल र धनकुटा, क्रान्ति शाह र वीरगन्ज, प्रदीपचन्द्र राई र भोजपुर, अनिष विष्ट र संखुवासभा, भवानी अधिकारीरस्याङ्जा, गंगा खड्कारगुल्मी, पार्थ मण्डलरझापा


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल