Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पानी नपिई व्रत बस्नु हानिकारक, कस्तो दर खान उपयुक्त हुन्छ ?

काठमाडौं । दैनिक खाने खाना र चाडपर्वका विशेष परिकारले स्वास्थ्यमा कति फाइदा र बेफाइदा पुर्‍याउँछ भन्ने हेक्का राख्न जरुरी हुन्छ । विशेषगरी तिजमा दरका रूपमा धेरै दिनअघिदेखि एकै प्रकारका खानेकुरा तथा मिठाईहरू दिनहुँजसो खाँदा शरीरलाई फाइदा नगर्न सक्छ । त्यसमा पनि बजारमा बनाइएका उच्च प्रशोधित खानेकुरा खाँदा स्वास्थ्यका हिसाबले हानिकारक हुनसक्छ ।

कस्तो दर खाने

मानव शरीलाई सन्तुलित र पोषणयुक्त खानेकुरा चाहिन्छ । तर, एकैपटक वा लगातार धेरै खानेकुरा खानाले ‘ओभर इटिङ’ अपच, कब्जियतजस्ता समस्या देखिन सक्छ । दीर्घकालीन असर पुर्‍याउने समस्या पनि निम्त्याउन सक्ने डाइटिसियन प्रतिमा सेन बताउँछिन् ।

उनका अनुसार विशेषगरी गुलियो, बढी तेलयुक्त तथा मसालेदार खानाले ‘मेटावलिक सिन्ड्रोम’ निम्त्याउन सक्छ । मेटावलिक सिन्ड्रोम त्यस्तो अवस्था हो, जसले धेरै रोग मधुमेह, हृदयाघात तथा अरू मुटुसम्बन्धी रोगहरूको जोखिम एकैपटक निम्त्याउन सक्छ ।

चाडपर्वमा खाइने बढी तेलयुक्त र धेरै गुलिया खाद्यवस्तु कुनै पनि रोगको लागि माध्यम बन्न सक्छ, जसलाई ‘इन्फ्लामेटरी मार्कर्स’ भनिन्छ । यो बढ्नु दीर्घकालीन रोगको सम्भावना पनि बढ्नु हो । चिनीजन्य खानेकुराले ‘डोपामिन’ नामक रसायन उत्पादन गर्छ, जसले मस्तिष्कलाई आनन्द दिन्छ । र, त्यस्ता खाद्यवस्तु धेरै खान मन लाग्छ । फलस्वरूप, तौल बढ्ने, मधुमेह बढ्नेजस्ता समस्या देखिन सक्छ ।

दरका रूपमा पनि बजारका भन्दा घरमै बनाइने खिर, गाँजरको हलुवा फलफूल, सलाद आदि सेवन गर्नु राम्रो हुने डाइटिसियन सेन बताउँछिन् । सन्तुलित भोजनअन्तर्गत दैनिक २०० देखि ३०० ग्राम फलफूल र कम्तीमा ५०० ग्राम काँचो तरकारीसहित अन्न फलफूल, सागसब्जी, दाल, गेडागुडी र चिल्लो पदार्थ मिलाएर खानु स्वस्थकर हुने उनको भनाइ छ ।

यस्तै, स्याचुरेटेड फ्याट बढी भएका खानेकुरा जस्तै, वनस्पती घिउबाट बनेका परिकार, बजारमा पाइने मिठाई आदिले मानव शरीरमा स्याचुरेटेड फ्याट बढाउँछ । स्वास्थ व्यक्तिको शरीररमा ७ प्रतिशतभन्दा कम स्याचुरेटेड फ्याट हुनुपर्छ ।

ट्रान्स फ्याटयुक्त खानेकुराबाट टाढै बसौँ

तयारी खानेकुरामा हुने अति खराब चिल्लोको मात्रालाई ट्रान्स फ्याट भनिन्छ । ट्रान्स फ्याट दुई स्रोतबाट पाइन्छ, प्राकृतिक र कृत्रिम । प्राकृतिक ट्रान्स फ्याट माछामासु तथा दुग्धजन्य खानेकुराबाट पाइन्छ । चौपायाको मासुमा तीनदेखि नौ प्रतिशतसम्म र दूधजन्य खानेकुरामा दुईदेखि ६ प्रतिशत ट्रान्स फ्याट पाइन्छ ।

एक वयस्क व्यक्तिले दैनिक दुई हजार क्यालोरी ऊर्जा दिने खाना खानुपर्छ । जसमध्ये एक प्रतिशत अर्थात् दुई ग्राम ट्रान्स फ्याटयुक्त खाना खानु पर्याप्त हुने वरिष्ठ हृदयरोग विशेषज्ञ डा। प्रकाशराज रोग्मी बताउँछन् । दुई ग्राम भनेको आधा चिया चम्चाभन्दा कम हुन्छ ।

उनका अनुसार कृत्रिम रूपमा पाइने ट्रान्स फ्याटले मानिसको शरीरमा अति नकारात्मक असर गर्छ । कृत्रिम ट्रान्स फ्याटको मुख्य स्रोत धेरै बेर तताएको तेल, पटक–पटक तताएको तेल तथा वनस्पति घिउ हुन् ।

‘रुम टेम्प्रेचर’मा जम्ने चिल्लो पदार्थहरूमा ट्रान्स फ्याटको मात्रा बढी छ भन्ने पुष्टि हुन्छ । यस्तो तेल वा घिउमा पकाएको खानेकुरामा अत्यधिक मात्रामा ट्रान्स फ्याट पाइन्छ ।

यस्तै, जंक फुड, बजारमा पाइने तयारी खानेकुरा, बेकरी आइटम, प्याकेटमा पाइने खानेकुरा, मिठाईलगायत खानेकुरामा शरीरलाई चाहिनेभन्दा बढी ट्रान्स फ्याटको मात्रा हुन्छ ।

उद्योगबाट उत्पादित चिल्लो पदार्थहरू जसलाई पार्सियल्ली हाइड्रेजेनेटेड ओइल पीएचओ भनिन्छ, यस्ता खानेकुरामा केही मात्रामा हाइड्रोजनको अणु मिसाइएको हुन्छ । यस्ता खाद्यपदार्थको स्वाद मिठो भए पनि स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै हानिकारक हुन्छन् ।

घरमा अत्यधिक रूपमा तारेर बनाइएका खानेकुरामा पनि ट्रान्स फ्याट हुन सक्ने डा.रेग्मी बताउँछन् । ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाई प्राकृतिक कोलेस्ट्रोलको मात्रालाई घटाइदिन्छ । यसले रक्तनलीहरूको भित्री भागमा रगतको थेग्ला जमाउने सम्भावना बढाउँछ । रक्तनलीहरू साँघुरिने क्रम बढाउँछ । यसरी ट्रान्स फ्याटले हृदयाघात तथा मस्तिष्काघातको सम्भावना बढाउँछ । मधुमेह, बाथरोगजस्ता समस्या पनि निम्त्याउन सक्छ ।

कस्तो व्रत बस्ने

अधिकांश महिला तिजमा निराहार व्रत बस्ने गरेको पाइन्छ । कतिपय फलाहारको भरमा बस्ने गरेका छन् । व्रतलाई मुख्यतया धार्मिक विश्वास र आस्थासँग जोडेर हेर्ने गरिएको छ । तर, स्वास्थ्यका दृष्टिकोणले कस्तो व्रत कति उचित त

योग तथा प्राकृतिक चिकित्सक डा.मनोज ढकाल व्यक्ति वा रोगीको प्रकृति हेरेर सही तरिकाको व्रत बस्दा पुराना, जटिल रोगहरू पनि निको हुने बताउँछन् । तर, व्रत बस्ने तरिका नजान्दा शरीरमा गम्भीर असर पनि देखिन सक्ने उनको भनाइ छ ।

डा। ढकालका अनुसार सामान्यता व्रत बस्दा व्यक्तिको प्रकृति हेरेर खानेकुरा खानुपर्ने हुन्छ । अधिकांश व्रतालुलाई जुस र फलफूल खाँदा फाइदा हुन्छ । व्रतमा सबैभन्दा धेरै कागती, मह, पानीको प्रयोग गरिन्छ । त्यो स्वास्थ्यका हिसाबले एकदम राम्रो र सुरक्षित पनि हुन्छ ।

फलाहारमा मुख्यतः केरा, मेवाजस्ता फलफूलहरू मिसावट गरेर सलाद बनाएर खाँदा स्वस्थकर हुन्छ । व्रतको धेरै फाइदा हुने भएकाले हरेक व्यक्तिले पटक–पटक आफूलाई मिल्दो समयमा जुस वा फलाहारसहितको व्रत बस्नु उचित हुन्छ ।

मानव स्वास्थ्य पाचनप्रणालीमा निर्भर हुने भएकाले पेटलाई सफा र पाचन प्रणालीलाई बलियो बनाउन पनि कम्तीमा हप्ताको एकपटक उपवास वा व्रत बस्न जरुरी हुने उनको भनाइ छ । हफ्तामा एकपटक सकेसम्म जुस वा कागती, मह खाएर व्रत बस्दा स्वस्थकर हुने उनी बताउँछन् ।

पानी नपिई बसिने व्रत सबैभन्दा हानिकारक

चाडपर्वका समयमा लिइने सबै किसिमका व्रत स्वास्थ्यका लागि फाइदाजनक नहुने डा. ढकाल बताउँछन् । विशेषगरी पानी नपिई निर्जल व्रत बस्नु शरीरका लागि निकै हानिकारक हुनसक्छ । स्वास्थ्य विज्ञानले निर्जल व्रत बस्न सल्लाह दिँदैन ।

व्रतको नाममा निर्जल रहनाले शरीरमा पानीको कमी हुन जान्छ । फलस्वरूप, कतिपय व्रतालुहरूमा बेहोस हुनेदेखि मिर्गौलामा विभिन्न समस्या निम्त्याउन सक्छ । डा। ढकालका अनुसार निराहार व्रत बस्दा पनि पानी बारम्बार पिउनु जरुरी हुन्छ ।

त्यसमा पनि कमजोरी, मधुमेह भएका, गर्भवती र अरू रोग लागेका व्यक्तिहरू निराहार व्रत नबस्न र बस्नै मन लागे चिकित्सकको सल्लाह लिन डा। ढकाल सुझाव दिन्छन् ।

यस्तै, व्रत बस्नुुअघि वा त्यसपछि के खाने भन्ने विषयले पनि स्वास्थ्यमा ठूलो भूमिका खेल्ने डा। ढकाल बताउँछन् । उनका अनुसार धेरै भोजन गरेर लगत्तै व्रत बस्नु त्यति स्वस्थकर मानिँदैन । यसरी बसिने व्रतले ग्यास्ट्रिक रोगको सिकार बनाउन सक्छ । पाचनप्रणालीमा असुन्तलन ल्याउँछ । राति १२ बजे धेरै भोजन गरेर भोलिपल्ट व्रत बस्नु राम्रो हुँदैन । बिहान विभिन्न पोषणयुक्त खाना खाएर बेलुका हल्का खाना खाएपछि भोलिपल्ट व्रत बस्नु उत्तम हुने उनी बताउँछन् ।

व्रत तोड्दा के खाने भन्ने कुराले पनि स्वास्थ्यमा निकै प्रभाव पार्छ । दिनभर निराहार बसेर साँझ सकभर लिटो, खिचडी, खिर, फलफूलजस्ता खानेकुरा मात्र खान ठिक हुने डा। ढकाल बताउँछन् ।

व्रत बसेको दिन नै व्रत सकिएपछि भात, रोटी वा अरू कुनै ‘भारी’ खाना खाँदा त्यसले पेटमा घाउ समेत बनाउन सक्छ । किनकि, शरीरको पाचनप्रणाली पूर्ण रूपमा त्यस्तो खाना पचाउनका लागि तयार वा सक्षम भएको हुँदैन । दिनभरको व्रतपछि साँझ नरम र सजिलै पच्ने खाना खाएर भोलिपल्ट मात्र साधारण खानाका लागि पाचनप्रणाली तयार हुने उनी बताउँछन् ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल