Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको क्षेत्रमा ओलीको हस्तक्षेप

चितवन । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधूपमा व्यस्तताअ बढेको छ । कार्यकर्ता भेला, सभा र प्रशिक्षणमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवन ओर्लेर चुनावी एजेन्डा अघि सारेका छन् । नेकपाको अर्को समूहमा नेतृत्व गरिरहेका पुष्पकमल दाहालको चुनावी क्षेत्रमा ओलीले मत मात्र मागेनन्, चितवन केन्द्रित दुई आयोजनाको शिलान्यास गरे । उनले दाहालप्रति संकेत गर्दै ‘विदेशमा नाभि गाडिएका’, ‘गफप्रेमी’ नभएर जनताका निम्ति काम गर्ने र देशभित्र साइनो सम्बन्ध भएकालाई मतदान गर्न आग्रह गरे । ‘नाभि विदेशमा गाडिएका, अन्यत्र जोडिएकालाई मत नदिनुहोला,’ ओलीले भने ।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र सहरी विकासमन्त्री प्रभु साहसहित हेलिकप्टरमा आएका ओलीले यहाँबाट निर्वाचित सांसद र नगरप्रमुखले कुनै काम नगरेको आरोप लगाए । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित आमसभामा उनले भने, ‘देशको स्वाभिमानलाई उठाउने र देश विकास गर्ने कामको अगुवाइ म गर्छु ।’ चुनाव प्रचारको झल्को दिने गरी आयोजना गरिएको आमसभामा उनले चितवनकेन्द्रित योजनाहरूको घोषणासमेत गरे । हाल २ हजार २ सय ८८ वर्गकिलोमिटर क्षेत्रफल रहेको चितवनको आधुनिक विकासका लागि ‘बृहत् चितवन भ्याली’ आयोजना चलाउने जानकारी उनले दिए । नवलपुरको दाउन्नेदेखि पूर्वमा मकवानपुरको मनहरिसम्मको ४ हजार ७ सय ८८ वर्गकिलोमिटर क्षेत्र समेटेर विकास योजना ल्याउने उनले बताए । ‘यो भ्यालीका लागि हामी गुरुयोजना बनाउँछौं । खेतीयोग्य जमिनमा आधुनिक खेती हुन्छ । निकुञ्ज आरक्ष र स्थानीयबीच द्वन्द्व समाप्त हुने गरेर कार्यक्रम ल्याइन्छ,’ सभामा उनले भने ।
प्रधानमन्त्री ओलीले नारायणी नदीमा पुल बन्न लागेको, नारायणी र राप्तीमा तटबन्ध बन्दै गरेको जानकारी दिए । बस र कार चढ्नेले झ्यालबाटै हेर्ने र मोटरसाइकल चढ्नेले पनि नियाल्ने आकर्षक सिग्नेचर ब्रिज नारायणीमा बन्ने उनले बताए । माडीमा आउँदो वर्ष राम मन्दिर बनाएर प्राणप्रतिष्ठा गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माडीमा राख्न रामको मूर्ति तयार भयो । सीताको पनि बन्दै छ । लक्ष्मण र हनुमानको बन्नेछ । यो वर्ष नभ्याइने भयो । अर्को रामनवमीमा भव्य तरिकाले मन्दिर बनाएर प्राणप्रतिष्ठा गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने ।
माडीमा राम मन्दिर निर्माणमा त्यहाँबाट निर्वाचित सांसदले केही नबोलेको भन्दै ओलीले दाहालप्रति व्यंग्य गरे । ‘त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा गर्न किन सक्नुहुन्न ? कसका डरले नसकेको हो ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुहुन्छ । मयूरको प्वाख लाउँदैमा अर्को चरो मयूर हुँदैन,’ दाहालप्रति ओलीको कटाक्ष थियो । सभाअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्ने सिटी हल र पूर्वपश्चिम राजमार्गको नारायणगढ–पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउने कामको शिलान्यास गरेका थिए ।