Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानन्यायाधीशले भने, प्रधानमन्त्रीले मात्रै होइन पूर्व प्रधानमन्त्रीहरुले पनि अदालतको मानमर्दन गरेका छन्

काठमाडौं । सर्वसाधारण र कानुनका ज्ञाताले समेत संविधानमा नेदेखेको संसद विघटनको अघिकार प्रधानमन्त्रीले प्रयोग गरेपछि अहिले संसद विघटनको मुद्दा सर्वोच्चमा बहस जारी छ । पूर्व प्रधानन्यायाधीशहरु समेत संसद विघटनको विपक्षमा खुलेरै लागेको बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बजारमा निस्किएका कुराबाट न्यायालय प्रभावित नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि आइतबार भएको सुनुवाइका क्रममा उनले न्यायालयका बारेमा बजारले भनेका कुराको पछि नलागि न्यायसम्पादन गर्न आफूहरु लागि पर्ने बताए ।

आइतबार रिटमाथि बहसका क्रममा अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट न्यायालयको मानहानी भएको भन्दै बेञ्चको ध्यानाकर्षण गराएपछि प्रत्युत्तरमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भनेका थिए । प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’ भनेर टिप्पणी गरेका कारण न्यायालयको मानहानी भएको अधिवक्ता त्रिपाठीको भनाइ थियो ।

लगत्तै प्रधान न्यायाधीश जबराले प्रधानमन्त्रीले मात्र नभइ पूर्व प्रधानमन्त्रीहरुले समेत बोलेका कुराहरु पनि न्यायालयको गरिमाविपरीत रहेको पाइएको जिकिर गर्दै तत्काल बजारका त्यस्ता कुराहरुमाथि आफूहरु केन्द्रित नहुने प्रस्ट पारे । उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि केन्द्रित रहेर यस विषयलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउँदै मुलुकलाई निकास दिनु नै अहिलेका लागि आफुहरुको प्राथमिकता रहेको बताए । प्रधान न्यायाधीश राणाले बजारमा भइरहेका टिप्पणीबाट न्यायालय रत्तिभर प्रभावित नहुने पनि प्रस्ट पारे ।