Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीका पूर्वहाकिम पराजित

काठमाडौंं । काठमाडौं उपत्यकाबाट चुनाव लडेका तीन जनै पूर्वप्रहरी पराजित भएका छन्। काठमाडौं क्षेत्र नं १ बाट पूर्वडीआईजी रमेश खरेल, काठमाडौं ६ बाट पूर्वआईजीपी सर्वेन्द्र खनाल र ललितपुर १ बाट पूर्वडीआईजी नवराज सिलवाल पराजित भएका हुन्। सिलवाल यसअघि २०७४ को निर्वाचनमा भने विजयी भएका थिए। तर त्यतिबेला जसलाई पराजित गरे अहिले उनैसँग हार्दै पुनः संसद फर्किने सपना यसपटकलाई टुंगिएको छ। कांग्रेसका उदय शमशेर जबरा २३ हजार ८९२ मत ल्याएर निर्वाचित भएका हुन्। नेकपा एमालेका उम्मेदवार सिलवालले १९ हजार २७८ मत पाए। यसअघि सिलवालले उदयलाई नै पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरेका थिए। काठमाडौंका २ क्षेत्रबाट पनि संसद छिर्ने पूर्वप्रहरीको सपना पूरा हुन पाएन। फरक फरक पार्टीबाट उम्मेदवार बनेका खरेल र खनाल पराजित भएका हुन्। काठमाडौं क्षेत्र नं १ मा नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका रमेश खरेल न्यून मात्रै मत पाए। यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले निरन्तर जित निकाले। सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा खरेलले ३ हजार १२४ मत पाए। उनी त्यहाँ पाँचौँ स्थानमा छन्। सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई १२५ मतले पछि पारेका हुन्। त्यहाँ त्यस्रो बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे पाउँदा एमालेका किरण पौडेलले चौथो बढी मत पाए। पूर्वआईजीपी सर्वेन्द्र खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले रोके। काठमाडौं ६ बाट शिशिरले ११४ हजार २०४ मत ल्याएर विजयी हुँदा झण्डै आधा मत मात्रै सर्वेन्द्रले पाए। एमालेका उम्मेदवार सर्वेन्द्रले ८ हजार ९११ मत ल्याउँदा निवर्तमान सांसद कांग्रेसका भीमसेन दास प्रधान पनि ८ हजार ८०५ मत ल्याएर पराजित भए। पूर्वआईजीपी खनाल असोज ५ मा नेकपा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशको १४ दिनमै संसदको टिकट पाएका थिए। उता सिलवाललाई पनि एमालेले दोहोर्‍याउन चाहेको थियो। खरेल भने आफैं पार्टी खोलेर चुनावमा भिडेका थिए।