Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि विश्वभर कोरोना संक्रमण वृद्धि हुने डब्लुएचओको घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।’ उनले पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट हामीले सर्तक हुनुपर्ने जिकिर गरे ।

डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमणको मामिला बढेको बताए । यस्तो पछिल्लो सात हप्तामा पहिलो पटक देखिएको उनको भनाइ थियो । उनले यो निकै निराशाजनक भएको बताए । धेरै देशहरुमा सामाजिक दुरीमाथिको कडाइ कम गर्दै लगिएको कारण यस्तो भएको हुनसक्ने उनको भनाइ छ । ‘मानिसहरु लापरवाह हुँदैछन्, जसले कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ,’ उनले भने । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११।४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् ।

हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । उता, अफ्रिकी राष्ट्रहरुमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । डब्लूएचओका अनुसार पश्चिमी अफ्रिकी देश घनालगायत देशमा खोप अभियान सुरु गरिएको छ । गत हप्ता ती देशहरुमा सिरम इन्सिटिट्यूटको खोप पुगेको थियो ।