Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवा सहयोगी सम्मानित

  • ऋषिराज सुवेदी

रामेछाप । पुष्पलाल–गङ्गालाल–कृष्णलाल अर्थात् तीन लाल जन्मस्थलका रूपमा परिचित रामेछापको मन्थली नगरपालिका १, सानीमदौ, सिर्जनानगर, नयाँघरस्थित डाँडाबारीमा निर्माण आरम्भ भएको ६ तले बहुउद्देश्यीय दृश्यावलोकन स्तम्भ (भ्यु टावर) तथा सांस्कृतिक केन्द्रका लागि प्रथम सहयोगदाता दीपकबहादुर सुवेदीको भव्य अभिनन्दन गरिएको छ ।

भ्यु टावर निर्माणका लागि २ लाख रुपैयाँभन्दा बढी मूल्यको बालुवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका सुवेदी आइतबार आफैँ बालुवाले भरिएको ट्रिपर लिएर निर्माणस्थलमा पु¥याएपछि उनलाई खास्टो, फूलमाला, अबिर र पुस्तक प्रदान गरी अभिनन्दन गरिएको हो । अभियन्ता अशोक सुवेदीले सहयोगदाता सुवेदीलाई अभिनन्दन गरेका थिए ।

अभिनन्दन कार्यक्रममा सहयोगी दीपकबहादुर सुवेदीले भने, ‘अग्रजहरूको स्मृति र सम्मानमा निःस्वार्थ रूपमा समाजको विकास र पर्यटन प्रवद्र्धनका लागि आरम्भ गरिएको शुभकार्यमा सहयोग गर्न पाउँदा धेरै खुसी छु । मानिस भएपछि सिर्जनात्मक कार्य गर्नुपर्छ र बोलेको पु¥याउनुपर्छ भन्ने लागेर मैले सहयोगको घोषणा गरेको थिएँ ।’

उनले अगाडि भने, ‘आफ्ना लागि मात्र त सबैले काम गर्छन् तर सामाजिक काम गर्ने मानिसको अभाव हुँदै गएको समयमा अग्रजहरूको स्मृतिमा भ्यु टावर निर्माण हुनु खुसीको कुरा हो । समाजमा सबैले आआफ्नो स्थानबाट सहयोग गरेमा अग्रजहरूको स्मृति र सम्मानमा आरम्भ गरिएको भ्यु टावर र सांस्कृतिक केन्द्र बन्न कुनै समय लाग्दैन । अरुलाई पनि सहयोगी हातहरू अघि बढाउन हार्दिक आह्वान गर्दछु ।’

जिजु शिवलाल, बाजे चन्द्रलाल र बाबाआमा कवि हितप्रसाद उपाध्याय–जूनमाया सुवेदीको स्मृतिमा स्मृति स्तम्भ र सालिक निर्माण गरी साहित्यिक प्रतिष्ठान, सङ्ग्रहालय, पुस्तकालय र आवास निर्माण गरेका साहित्यकार एवम् पत्रकार अशोक सुवेदीले आफ्नै जग्गा प्रदान गरी भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणको पहल थालेका हुन् ।

उनले पुष्पलाल–गङ्गालाल जन्मस्थल भँगेरीमा सात वर्षअघि बाबाआमाको नाममा पुष्पलाल–गङ्गालालको सालिक निर्माण गराएका छन् भने उनकै पहलमा प्रथम सांस्कृतिक सहिद कृष्णलालको जन्मस्थल कठजोरमा सालिक निर्माणस्थल शिलान्यास गरिसकिएको छ । तत्कालीन शाहीसेनाले जनयुद्धका क्रममा सातजना योद्धाको सामूहिक हत्या गरेको र एकीकृत जनक्रान्तिमा सहिद हुने रामकुमार श्रेष्ठको जन्मस्थल सालुमा पनि सामूहिक सालिक निर्माण गर्ने निर्णय नेकपाले गरिसकेको छ ।

६ तलाको निर्माण गर्ने लक्ष्य राखिएको उक्त भ्यु टावर र सांस्कृतिक केन्द्र बहुद्देश्यीय हुने बताइएको छ । ६ तलामध्ये हरेक तलाका भित्ताहरू अग्रज सं्रष्टा र संस्कृतिकर्मीको तस्बिर र चित्रकलाले सजाइनेछ । ६ मध्ये एक तलामा रेस्टुरेन्ट, अर्कोमा पुस्तकालय, अर्कोमा सांस्कृतिक सम्पदाको सङ्ग्रह, अर्कोमा आवास, अर्कोमा कार्यालय, अर्कोमा पसल र अन्तिम तलामा आवास रहने उक्त भ्यु टावर निर्माणमा सहयोगका लागि दाताहरूले प्रस्ताव गरिरहेको अभियन्ता अशोक सुवेदीले बताएका छन् । न्यूनतम् डेढ करोड रुपैयाँ लागत अनुमान गरिएको भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माण समिति गठन प्रक्रियामा रहेको र डीपीआर सम्पन्न हुनासाथ निर्माणकार्य अघि बढ्ने पनि उनले बताए ।

उक्त कार्यक्रममा भ्यु टावर निर्माणमा लाग्ने सम्पूर्ण पानी र केही महत्वपूर्ण फर्निचरको निःशुल्क व्यवस्था गरिदिने घोषणा गरेका स्थानीय काष्ठकर्मी युवक पवन विकलाई पनि कार्यक्रममा अबिर लगाएर सम्मान गरिएको थियो । बज्रगुरु कन्स्ट्रक्सनले निःशुल्क उपलब्ध गराएको जेसीबीले भ्यु टावर निर्माणस्थल सम्याएर जग खनेको थियो ।


सम्बन्धित समाचार