Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महासंघको ब्यानर भजाउने पत्रकारलाई किन दिने भोट ?

काठमाडौं । नयाँ नेतृत्वका लागि भोलि पत्रकारहरूले आफ्ना नेता छान्न मतदान गर्दैछन् । महासंघको नेतृत्वमा आउनेले ठूलै परिवर्तन गर्न सक्ने त होइन तर आपत विपत पर्दा सरसहयोग गर्लान् भन्ने अपेक्षा राख्नु गलत होइन । तर यहाँ पत्रकारका नाममा अन्य क्षेत्रका मानिसको भिड लागेको कुरा सबैले बुझेकै हो । तर पनि नेतृत्वमा चाहिँ साँच्चै पत्रकार चुनिनुपर्छ भन्ने बुझाई सबैमा हुन आवश्यक छ । भोलि हुने पत्रकारहरूको कुम्भ मेलामा प्रतिस्पर्धीहरूको ताँती नै लागेको छ । यो ताँतीबाटै पत्रकारको हितमा काम गर्न सक्ने नेतृत्व चुन्नुपर्ने छ । अधिल्ला चुनावहरूमा जितेर गएका केही गलत व्यक्तिहरूले पदको दुरुउपयोग गरि संस्थाको बदनाम गराएका थिए । संस्थाको नाम भजाएर आफू कमाउने व्यक्ति पनि महासंघ नेतृत्वमा नचुनिएका होइनन् ।

महासंघको ब्यानरमा आफ्नो व्यवसाय चम्काएका पत्रकारहरू पनि फेरि चुनावी मैदानमा देखिएका छन् । अबको नेतृत्व यस्तो चुनियोस् जो यस क्षेत्रमा भिजेको व्यक्ति हुन्, यसै क्षेत्रका यातव समस्याहरूको समाधानका लागि अघि बढ्न सकोस् । अबको चुनावमा संस्थाको हितमा काम नगर्ने जता पुगे पनि आफ्नै गोजी भर्ने मनसाय राख्ने व्यक्तिहरूलाई यो वा त्यो गुटको नाममा नेतृत्वमा ल्याउनु हुँदैन । देशमा संकट पर्दा पत्रकारिता पेशा पनि संकटमा पर्नु नौलो होइन । तर यही संकटलाई पनि कतिपय पत्रकारहरूले कमाउने धन्दा नै बनाएका उदाहरण प्रशस्तै छन् । कोरोना कहरले आक्रान्त बन्दा होस् या अन्य प्राकृतिक विपत्तिहरूको सामना गर्दा कोही व्यक्ति यस्ता पनि छन् जो राहातको प्याकेज आउँदा दुःख परेका पत्रकारलाई सम्झिने होइन जो अभावमा छैन र मानसिक रुपमा मात्रै दरिद्र छ उसैले ३–४ पटकसम्म राहत दिइएका घटना पनि छन् ।

सञ्चारकर्मीलाई सडकमा हिँड्डुल गर्न सहज होस् भनेर दाताहरूले दिएको ज्याकेट वितरणमा पनि त्यस्तै भद्रगोल देखिएको थियो । साँच्चैका पत्रकारले नपाएको त्यो ज्याकेट मासु पसले, होटलका स्टाफ, बैंकका कर्मचारी र किराना पसलेले प्रयोग गरेको पनि देखियो । इस्यु सानै हो तर नेतृत्वमा हुनेको नियत यस्ता घटनाले प्रष्ट पार्दछ । नेतृत्व हामीले पत्रकारको छान्ने हो यो गूट वा त्यो पार्टी भनेर लाग्ने भन्दा पनि श्रमजीवी वर्गको नेतृत्व गर्नसक्ने र पेशापति इमान्दार व्यक्तिलाई हामीले आफ्नो अमूल्य मत दिन सकियो भने भोलि आपत विपतमा उनीहरूको साथ पाउन सकिन्छ ।