Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माफी माग्नु पर्नेमा उद्घाटनको तमासा

काठमाडौं । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेपाली काँग्रेसका युवा नेता गगन थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको उल्लेख गरे । उनले २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उनले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे । उनले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अरबौं रुपैयाँ भार पर्दा माफी माग्नुपर्ने हैन भन्दै प्रश्न गरे । उनले काठमाडौंबासीसँग आयोजना ढिला भएकोमा माफी माग्नुपर्ने बेलामा प्रधानमन्त्रीले उद्घाटनको तमासा गरेको बताए । उनले भने– काठमाडौंबासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर कहिले उठेर कहिले बसेर उद्घाटन गरेको छ तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ । उनले २०६७ सालमा सुरु भएको माथिल्लो तामाकोशी २०७३ सालमा सकिनुपर्नेमा ७१ सालसम्म ८० प्रतिशत काम सकिएकोमा ७५ सालभित्र सकिनुपर्नेमा अब बैशाखमा पहिलो युनिट आउन लागेकोले अब मेलम्ची आयोजनामा जस्तै अपर तामाकोसीमा पनि प्रधानमन्त्रीले त्यस्तै तमासा देखाउने उल्लेख गरे । उनले भने– प्रधानमन्त्री त कस्तो कस्तो । झ्वाट्ट बिजुली बालिदिनुभयो, पानी झारिदिनुभयो अब हामी कविता सुन्न पाउनेवाला छौँ । यहाँ कोही फास्ट ट्रयाकको कुरा गर्दैन, बुढी गण्डकीको कुरा कोही गर्दैन, पश्चिम सेतीको कुरा कोही गर्दैन, कर्णाली करिडोरको कुरा गर्दैन । उनले थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको बताए । उनले प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको उल्लेख गरे ।