Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपले सिंगापुरमै झिकाए वकिल

काठमाडौं। बेपत्ता भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरको आरोप लागेपछि आफू केही दिनमा नेपाल आउने बताएका थिए । तर, नेपालका कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी मन बदलेर सिंगापुरतिर लागेको बुझिएको छ । प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गरेको थियो । त्यसबेला सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् । उनी आफैं हिसाबले कानूनी लडाईं लड्ने तयारी गरिरहेका छन् ।
सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ । सन्दीपले चाहेजस्तो आफू उपस्थित नभइकन कानूनी लडाईं लड्न सक्ने अवस्था भने देखिँदैन । देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा हुँदैन । त्यसैले सम्भवतः उनी केही दिनमा नेपाल फर्किनैपर्ने छ । सन्दीपमाथि अनुसन्धान गरिरहेको प्रहरी उनको पर्खाइमा छ । सन्दीपले आफैं नेपाल आउने र कानूनी लडाईं लड्ने बताएकाले प्रहरीले थप कदम चाल्नु आवश्यक ठानेको छैन । तर, यदि उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुनसक्ने प्रहरी स्रोत बताउँछ ।