Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१ करोड ८२ लाख ५१ हजार नक्कली नोट समातियो

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले१ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडी रोकेको थियो । शङ्कास्पद अवस्थाको स्कारपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको एसपी रेग्मीको भनाइ छ । स्कारपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो । त्यस लगत्तै प्रहरीले स्कारपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कारपियोमै सवार रहेका अर्का व्यक्ति फरार बनेका छन् । रेग्मीका अनुसार बरामद भएको रकम, स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ ।