Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीनामा गर्ने तयारीमा राष्ट्रपति, नागरिकता विधेयकमा नमुछिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पदबाट राजीनामा दिने मनस्थितिमा पुगेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँगको छलफलमा राष्ट्रपति भण्डारी राजीनामा दिने सोचमा पुगेको बताएका छन्। भण्डारी राजीनामा दिने तयारी गरेको देउवाले आफूनिकट नेताहरूलाई बताएको कांग्रेसका एक शीर्ष नेताले जानकारी दिए। राष्ट्रपति भण्डारीले बुधबार सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीहरूलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता फिर्ता पठाए पनि प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेपछि भण्डारी असन्तुष्ट बनेकी स्रोतले जनाएको छ। प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता पठाएपछि कतिपयले राष्ट्रपतिको कदमको प्रशंसा गरेका थिए। राष्ट्रपतिले उठाएको त्यो कदमको फाइदा आगामी निर्वाचनमा लिनसकिने एमालेको रणनीति हुनसक्ने कांग्रेस नेताहरूको बुझाइ छ।
यद्यपि कतिपयले संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको कदमको आलोचना गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक सत्ता गठबन्धनले हुबहु पारित गरेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आपत्ति जनाएका थिए।
भण्डारीको सम्भावित राजीनामाबारे सत्ता गठबन्धनको शीर्ष नेतृत्व तहमा पनि छलफल भइरहेको छ। उनले राजीनामा दिएको खण्डमा पर्नसक्ने सम्भावित प्रभावबारे गठबन्धनआवद्ध दलहरू छलफलमा जुटेका छन्। नागरिकता ऐन संशोधन गर्न सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर नागरिकता विधेयक राष्ट्रपति भण्डारीसमक्ष पठाइएको थियो। तर, भण्डारीले भने विधेयक प्रमाणीकरण नगरेर पुनः प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। राष्ट्रपति भण्डारीले ८ बुँदे सुझावसहित विधेयक फिर्ता पठाए पनि प्रतिनिधिसभाबाट विधेयक पुनः हुबहु पारित भएको थियो।
अब भदौ १२ गते बस्ने राष्ट्रियसभा बैठकबाट विधेयक पारित गर्ने तयारी सरकारले गरेको छ। राष्ट्रियसभाबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रतिसमक्ष पुग्नेछ। संविधानअनुसार दुवै सदनबाट पारित भइसकेको विधेयक पुनः प्रमाणीकरणका लागि पुगेपछि फिर्ता पठाउने सुविधान राष्ट्रपतिलाई छैन। आफैंले फिर्ता पठाएको विधेयक पुनः प्रमाणीकरण गर्नुपर्ने सम्भावना बलियो हुँदै गएपछि राष्ट्रपति भण्डारी राजीनामा दिने तयारीमा पुगेको हुनसक्ने आकलन गरिएको छ। भण्डारी पहिलोपटक २०७२ कात्तिक १२ र दोस्रोपटक २०७४ फागुन २९ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल