Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडक विस्तारको मुद्दामा हेटौडामा कांग्रेस विभाजित

काठमाण्डौ , हेटौंडा बजार क्षेत्रको सडक विस्तारका विषयमा कांग्रेसका मुख्य नेताहरु नै दुई ध्रुवमा विभाजित भएका छन् । मकवानपुुरबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सडक विस्तारको विपक्षमा देखिएकी छन् भने कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ विगतदेखि नै सडक विस्तार आवश्यकता र समयको मागका आधारमा कानुन बमोजिम हुनुपर्ने पक्षमा देखिएका छन् ।

सडक विस्तारको विपक्षमा उभिएर बजार क्षेत्रका घर भत्काउने हो भने मुआब्जा दिनुपर्ने माग गर्दै संघर्ष गरिरहेको उद्योग वाणिज्य संघ मकवानपुरसहितको टोली लिएर केही दिन अघिमात्र सह–महामन्त्री डिना प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेकी थिइन् । प्रधानमन्त्री देउवासमक्ष हेटौंडा बजार क्षेत्रको सडकलाई राष्ट्रिय राजमार्गबाट हटाउन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित उनी बालुवाटार पुगेकी थिइन् ।

आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ मकवानपुर–१बाट चुनाव लड्ने तयारीमा रहेकी डिना २५ मिटर सडक विस्तारको विपक्षमा देखिएकी हुन् । मकवानपुर–१ अन्तर्गत हेटौंडा बजारको अधिकांश क्षेत्र पर्दछ ।

यता प्रदेश सभापति बानियाँ भने निर्वाचन नजिकिँदै गरेको अवस्थामा केही व्यक्तिले सहानुभूतिको मत संकलन गर्न हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विरोध गरेको तर्क गर्दछन् । उनले विकास आजको आवश्यकता हो भन्दै हेटौंडाको तत्कालीन अवस्थाको मूल्याङ्कन गरेर कानुन अनुसार सडक विस्तारको सीमा तय हुने बताए ।

‘हेटौंडा बजारको सडक आवश्यकता र स्थानीयको माग हो भने त्यसमा कुनै समस्या आउँदैन । सवारीको चाप र आवश्यकताले हेटौंडाको सडक स्वतः विस्तार हुन्छ’, उनले भने, ‘अहिले देश निर्वाचनमा छ । मत पाउने आशमा सो क्षेत्रका जनतालाई डर र त्रासमा बाँच्न बाध्य पार्नु हुँदैन । मतकै लागि भ्रम सिर्जना गर्नु गलत हो ।’

सडक विस्तारको मापदण्डका लागि राज्यले बनाएका ऐन कानुनका आधारमा सबै चल्नुपर्ने उनले बताए ।

यता नेपाली कांग्रेस मकवानपुरका सचिवसमेत रहेका भिमसेन महत पनि सडक विस्तारको विषयमा राजनीतिक दलहरुले मत कै लागि जनतामा भ्रम छर्न नहुने बताउँछन् । उनले सरकारका नीति, नियम र कानुनले निर्धारण गरेको मापदण्डमा रहेर हेटौंडा बजार क्षेत्रको सडक विस्तार हुने र त्यसबाट समस्यामा परेका वास्तविक व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्ने बताए ।

राज्यले चाहेको खण्डमा कानुन अनुसार हेटौंडाको सडक २५ मिटर नै विस्तार गर्न सक्ने उनको भनाइ छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल