Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

८०औँ जन्मदिन मनाउदै अमिताभ,उनका बारेमा पढ्नै पर्ने कुरा यस्ता छन्

काठमाडौं । भारतमा आजको दिन अमिताभ बच्चनका फ्यानका लागि कुनै ठूलो उत्सवभन्दा कम छैन । कारण हो, आज परेको अमिताभको जन्मदिन । यो वर्ष उनी ८० वर्ष प्रवेशको जन्मदिन मनाइरहेका छन् । र उनका लाखौँ फ्यानले यसलाई उत्सवका रूपमा मनाइरहेका छन् ।

भारतमा अमिताभ त्यस्ता एक अभिनेता हुन्, जसले आफ्नो दमदार अभिनयमार्फत लाखौँ फ्यान कमाएका छन् । जो अमिताभको खुसीमा खुसी र दुःखमा आफू पनि दुःखी भएको महसुस गर्छन् । हरेक फिल्ममा अमिताभले गर्ने मन छुने अभिनय नै यसको मुख्य कारण हो ।

रोमान्टिक होस् वा कमेडी, सस्पेन्स थ्रिलर होस् वा एक्सन कुनै त्यस्तो जानरा छैन, त्यसमा अमिताभले काम नगरेका हुन् । उनको जन्म सन् १९४२ अक्टोबर ११ मा भएको थियो ।

सन् १९६९ मा सात हिन्दुस्तानी चलचित्रबाट सिनेमामा डेब्यु गरेका उनी ८० वर्षको उमेरमा पनि चलचित्रमा काम गरिरहेकै छन् । ५० वर्षदेखि अमिताभ चलचित्रमा उत्तिकै सक्रिय छन्, जति उनी वयस्क हुँदा काम गर्थे । आठ दशकमा पनि उनी त्यति धेरै स्वास्थ्य अवस्थाले कमजोर छैनन्, जति उनको उमेरले संकेत गर्छ ।

आफ्नो स्वास्थ्यप्रति अमिताभ निकै सचेत छन् । जसका कारण उनी ८०औँ वसन्तमा प्रवेश गर्दा पनि स्वस्थ नै देखिन्छन् । सुरुमा मांसाहारी उनले पछि मासु खान छोडे । चिया, कफी पिउँदैनन् । स्वास्थ्यको ख्याल गर्ने उनी कोल्ड ड्रिंक्स पनि पिउँदैनन् ।

अमिताभ सफल अभिनेता मात्र होइनन्, उनका अरू परिचय पनि छन् । सिनेमा निर्माता त सिनेमासँगै जोडिएको काम भइहाल्यो । उनी टेलिभिजन होस्ट पनि हुन् । लोकप्रिय टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ उनले होस्ट गरेको कार्यक्रम हो । आक्कलझुक्कल प्लेब्याक सिंगरको छवि बनाएका अमिताभ राजनीतिमा पनि कुनै समय सक्रिय थिए । सन् १९८४ मा उनी सांसद भएका थिए । भलै, अहिले उनी राजनीति गर्दैनन् । सिनेमामै सक्रिय छन् ।

३५ सय करोड भारु सम्पत्तिका मालिक अमिताभले अहिले पनि वार्षिक ६० करोड भारु कमाउने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमिताभ जति पैसा कमाउँछन्, त्यति नै सोखिन र विलासी पनि छन् भन्न सकिन्छ । कारण, मुम्बईमा उनका पाँच बंगला छन् । मुम्बईको जुहुस्थित जलसा बंगलामा बस्ने अमिताभको घरको मूल्य १२० करोड भारु रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमिताभ विलासी सामानका सोखिन रहेको उनीसँग रहेका लक्जरी कार र पेन्टिङले पनि पुष्टि गर्छ । लक्जरी ब्रान्डका ११ कार छन् । उनीसँग रोल्स रोयल फ्यान्टम, बीएमडब्ल्यू, मर्सिडिज, लेक्ससका कार छन् ।

भारतमा बिग बी भनेर चिनिने अमिताभसँग २६० करोडको निजी जेट छ । अक्सर उनी आफ्नै जेटमा यात्रा गर्छन् ।

उनको घरमा एउटा पेन्टिङ पनि छ, उनले सजाएर राखेको बुलको पेन्टिङ । उक्त पेन्टिङ मञ्जित बाबाले बनाएका हुन् । जसलाई अमिताभले चार करोड भारुमा खरिद गरेका थिए ।

जति सोखिन छन्, अमिताभ त्यति नै मनकारी पनि । त्यसैले त उनलाई भारतमा भगवान् मानेर पूजा गर्ने नागरिक पनि कम छैनन् भनिन्छ । भारतको उत्तर प्रदेशका एक हजार ४०० किसानले लिएको ६ करोड ऋण उनले तिरिदिएका थिए । बैंक अफ इन्डियामार्फत केही वर्ष अगाडि उनले किसानको ऋण तिरिदिँदै लेखेका थिए– एउटा काम पूरा गरेको महसुस भइरहेको छ ।

त्यसैले त अमिताभको जन्मदिन उनी एक्लै उनको घरमा मनाउँदैनन्, भारतका थुप्रै जनता र उनका फ्यानले दीर्घायुको कामना गर्दै जन्मदिन मनाइदिन्छन् ।

अमिताभको सम्मानमा भारतका विभिन्न सहरहरूमा उनका सिनेमा देखाइएको छ । फिल्म हेरिटेज फाउन्डेसनले फिल्म फेस्टिभल भन्दै अक्टोबर ८ देखि आजसम्म अमिताभ बच्चन अभिनीत फिल्म देखाइरहेको छ ।

पीभीआर सिनेमाको मुम्बई, दिल्ली, कोलकाता, बेंग्लोरलगायत विभिन्न सहरका १७ स्थानमा रहेका २२ स्क्रिनमा अमिताभ अभिनीत कभी कभी, अमर अकबर एन्थोनी, डन कालापत्थर, कालिया, नमक हलाल दिवार, मिली, सट्टे पे सट्टा, चुपके चुपके र अभिमान देखाइने पूर्वनिर्धारित कार्यक्रम थियो ।

अमिताभले आफू र उक्त सिनेमासँग जोडिएका व्यक्तिको काम फेरि एकपटक हेर्ने अवसर पाएको बताएका छन् । मेरो काम मात्र होइन, मेरा सहकर्मी, निर्देशक र प्राविधिकको काम पनि फेरि एकपटक हेर्न पाइने भएको छ । यो साँच्चै राम्रो प्रयास हो, अमिताभले भनेका छन् ।


सम्बन्धित समाचार