Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा मार्शल ल’ लागू गरेको घोषणा गरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आफूले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा ‘मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको बताए।

सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो।

७० वर्षीय रुसी नेताले भने, कीभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ।

उनले युक्रेनले आतङ्कवादी तरिका प्रयोग गरेको आरोप लगाए। रूसी नेता पुटिनले भने, उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूहहरू पठाउने गरेका छन् । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ।

रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ। रूसी राष्ट्रपति पुटिनले भने हामी सुरक्षा सुनिश्चित गर्न र रूसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौं।